सञ्चारमाध्यमले नागरिकको आवाज र सामाजिक हितलाई केन्द्रमा राख्नुपर्छ : मन्त्री तिमिल्सिना

लोकपथ
0
Shares

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमिल्सिनाले सूचना प्रविधिको तीव्र विकास र डिजिटल मिडियाको बढ्दो प्रभावसँगै सञ्चारमाध्यमले नागरिकको आवाज र सामाजिक हितलाई केन्द्रमा राखेर काम गर्नुपर्ने बताएका छन् ।

काठमाडौंमा आयोजित कार्यक्रममा उनले सञ्चारमाध्यमप्रति नागरिकको अपेक्षा र विश्वासलाई आत्मसात् गर्दै जिम्मेवार पत्रकारिता आवश्यक रहेको बताए ।

उनले सरकारी सञ्चार संस्थानलाई समयानुकूल ढंगले थप व्यावसायिक, जिम्मेवार र उत्तरदायी बनाउनुपर्नेमा जोड दिँदै कर्मचारीलाई संस्थाको हितलाई केन्द्रमा राखेर काम गर्न निर्देशन दिए ।

मन्त्री तिमिल्सिनाले लामो समयदेखि दोहोरिँदै आएका समस्या मात्र औँल्याएर नहुने भन्दै समाधानमुखी सोच र कार्यशैली विकास गर्न आवश्यक रहेको उल्लेख गरे । उनले कर्मचारीहरूलाई चुनौती समाधानतर्फ केन्द्रित भएर संस्थाको सुधार र प्रभावकारितामा ध्यान दिन आग्रह गरे ।

उनले गोरखापत्र संस्थानको पुनर्संरचना अपरिहार्य भएको बताउँदै देशको विविधता र भाषिक सम्पदाको संरक्षण, प्रयोग र प्रवर्द्धनलाई प्राथमिकता दिनुपर्ने धारणा राखे ।

गोरखापत्रको ऐतिहासिक भूमिकाको स्मरण गर्दै उनले पत्रकारिताको शैली, प्रविधि र कार्यप्रणाली समयअनुसार व्यापक रूपमा परिवर्तन भएको बताए । बदलिँदो परिवेशमा गोरखापत्रले आफूलाई अन्य सञ्चारमाध्यमभन्दा कसरी फरक, प्रभावकारी र विश्वसनीय बनाउने भन्ने विषयमा गम्भीर समीक्षा गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ थियो ।

‘आज भनेको भोलिको इतिहास हो । आज गरेका असल कामले नै भविष्यको मार्गनिर्देश गर्छ । तपाईंहरू यो संस्थालाई गर्व गर्नलायक बनाउने गरी काम गर्नुहोस्,’ मन्त्री तिमिल्सिनाले कर्मचारीलाई निर्देशन दिँदै भने ।

उनले नागरिकले तिरेको कर र सरकारी अनुदानबाट सञ्चालित संस्था भएकाले जनहितलाई प्राथमिकतामा राखेर काम गर्नु सबैको प्रमुख दायित्व भएको पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?