‘एयरपोर्टबाट सुन र रक्सी छिर्छ, सीमामा गरिबलाई किन चेकजाँच ?’ भन्दै माइतीघरमा प्रदर्शन

लोकपथ
21
Shares

काठमाडौं । राष्ट्रिय एकता दलले नेपाल भारत सीमा क्षेत्रमा लागू गरिएको १०० को प्रावधान खारेजी तथा सुकुमबासी बस्तीमा डोजर चलाइएकोविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन गरेको छ ।

हाल नेपाल भारत सीमानामा १०० रुपैयाँ भन्दा बढीको सामग्री ल्याउँदा भन्सार तिर्नुपर्ने नियमबारे सरकारको चौतर्फी आलोचना भइरहेको छ । त्यस्तै सरकारले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा सुकुमबासी बस्ती हटाउन डोजर चलाइरहेको छ । अहिले जल्दोबल्दो रुपमा रहेको दुई विषयको विरुद्धमा राष्ट्रिय एकता दलले विरोध जनाएको हो ।

माइतीघर मण्डलामा भएको विरोध प्रदर्शनमा उपस्थित प्रदर्शनकारीहरुले सीमाना क्षेत्रका गरिब नागरिकहरुमाथि अन्याय, कडाइ र भेदभावपूर्ण व्यवहार भइरहेको भन्दै विरोध प्रदर्शन गरेका हुन् ।

दलका केन्द्रीय अध्यक्ष विनय यादवको नेतृत्वमा भएको प्रदर्शनमा दलका नेताहरु तोयानाथ दहाल, कालानंद मिश्र र प्यारी तामाङ लगायतले पनि सम्बोधन गरेका थिए ।

कोणसभालाई सम्बोधन गर्दै अध्यक्ष यादवले भने, ‘सीमानामा १०० को नाममा गरिबमाथि अन्याय भइरहेको छ । सरकार धनीका लागि नियम फितलो बनाउँछ, तर गरिबका लागि कडा । एयरपोर्टबाट सुन र रक्सी सजिलै छिर्छ, तर किसानले ल्याएको चामलसमेत जाँचिन्छ । यो दोहोरो मापदण्ड अब सहिँदैन ।’

त्यस्तै सरकारले बल प्रयोग गरेर जनताको घर भत्काउने काम भइरहेको भन्दै त्यसलाई बन्द गर्न समेत माग गरिएको थियो ।

‘हामी सरकारसँग स्पष्ट माग गर्छौं, सीमानाका जनताको अधिकार सुनिश्चित गरियोस्, किसानलाई आवश्यक मलखादको व्यवस्था गरियोस्, र गरिबमाथिको दमन तुरुन्त रोकियोस्,’ उनले भने ।

प्रदर्शनमा ‘सीमामा १०० को नियम हटाऊ, गरिबको हक अधिकार बचाऊ, एयरपोर्टमा सुन–रक्सी छुट, गरिबको चामल किन जाँच कु र ? पूर्व सूचना बिना डोजर बन्द गर, जनताको घरमा अन्याय अन्त गर !,’ लगायतको नारा लगाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?