न्यूरोडमा भाटभटेनी पुनः सञ्चालनमा आएपछि पोखराका मेयरले गरे मीनबहादुरको प्रशंसा

लोकपथ
0
Shares

काठमाडौं । पोखराको न्यूरोड भाटभटेनी सुपरमार्केटको शाखा सञ्चालनमा आएको छ ।

जेनजी आन्दोलनका क्रममा क्षतबिच्छेद बनेको भाटभटेनीको शाखा आजबाट पुनः सञ्चालनमा आएको हो ।

भाटभटेनीका सञ्चालक मीनबहादुर आफैँ उक्त शाखा उद्घाटनका लागि पुगेका थिए ।

जेनजी आन्दोलनका क्रममा देशभरका धेरै जसो भाटभटेनीहरुमा आगजनी, तोडफोड र लुटपाट समेत भएको थियो । तर मीनबहादुरले भने लगत्तै आउन लागेको दशैँमा सबै कर्मचारीहरुलाई तलब दिने, कसैलाई जागिरबाट ननिकाल्ने बताएका थिए । जेनजी आन्दोलनमा क्षतिग्रस्त भएको अधिकांश भाटभटेनीका शाखाहरु सञ्चालनमा आइसकेका छन् ।

मीनबहादुरले जेनजी आन्दोलनपछि देखाएको साहसबारे पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले उनको प्रशंसा गरेका छन् ।

भाटभटेनीको उक्त शाखा सञ्चालनमा आएसँगै सामाजिक सञ्जालमा लेख्दै मेयर आचार्यले मीनबहादुरले जस्तो परिस्थितिमा पनि हरेस नखाइ अघि बढ्ने साहस देखाएको बताए ।

धनराजले सामाजिक सञ्जालमा लेखेका छन् :

हार्दिक धन्यवाद तथा उच्च सम्मान ! अदम्य साहस, धैर्यता र दृढताको प्रतीक भाटभटेनी समूहका अध्यक्ष तपाईं मीनबहादुर गुरुङज्यूले क्षतिको कुनै प्रवाह नगरी पोखरा न्यूरोडस्थित भाटभटेनीको संरचना तथा स्टोरलाई आजबाट पुनः पुरानै रूपमा शुभारम्भ गर्नु भएकोमा सम्पूर्ण नगरवासीको तर्फबाट हार्दिक खुशी तथा आभार व्यक्त गर्दछु । तपाईंले अप्ठ्यारो परिस्थितिमा पनि हरेस नखाई, साहस नगुमाई अघि बढ्नुपर्छ भन्ने प्रेरणादायी सन्देश दिनुभएको छ। हरेक प्रश्नको जवाफ र हरेक समस्याको समाधान हुन्छ भन्ने विश्वास तपाईंको कार्यबाट प्रष्ट भएको छ । देशले फेरि यस्ता क्षति व्यहोर्न नपरोस् भन्ने कामना गर्दै तपाईंलाई आगामी दिनहरूमा अझ ठूलो सफलता प्राप्त होस् भन्ने हार्दिक शुभकामना व्यक्त गर्दछु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?