सुरक्षित र समावेशी डिजिटल इकोसिस्टम निर्माण सरकारको प्राथमिकता : मन्त्री तिमिल्सिना

लोकपथ
49
Shares

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले सुरक्षित, विश्वसनीय, समावेशी तथा दिगो डिजिटल इकोसिस्टम निर्माण सरकारको प्रमुख प्राथमिकता रहेको बताएका छन् ।

राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस, २०८३ का अवसरमा आज शुभकामना सन्देश जारी गर्दै मन्त्री तिमिल्सिनाले सूचना प्रविधि अब सुशासन, सेवा प्रवाह, आर्थिक विकास, उद्यमशीलता तथा नागरिक सशक्तीकरणका लागि आधारभूत आवश्यकता बनिसकेको उल्लेख गरे ।

उनले सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा क्रियाशील उद्यमी, नवप्रवर्तक, प्राविधिक जनशक्ति, स्टार्टअप समुदाय, निजी क्षेत्र, अनुसन्धानकर्ता, विद्यार्थी तथा सम्पूर्ण सरोकारवालालाई शुभकामना व्यक्त गर्दै डिजिटल नेपाल निर्माणको लक्ष्यलाई व्यवहारमा उतार्न सरकार प्रतिबद्ध रहेको बताए ।

मन्त्री तिमिल्सिनाका अनुसार सरकारले सार्वजनिक सेवा प्रणालीलाई थप सरल, पारदर्शी, उत्तरदायी तथा नागरिकमैत्री बनाउन डिजिटल सार्वजनिक पूर्वाधार विकासलाई प्राथमिकतामा राखेको छ । उनले नागरिक एपलाई थप सुदृढ र प्रभावकारी बनाउँदै अत्यावश्यक सरकारी सेवाहरू एउटै डिजिटल प्लेटफर्ममार्फत सहज रूपमा उपलब्ध गराउने व्यवस्था विस्तार भइरहेको जानकारी दिए ।

उनले नेपाललाई डिजिटल नवप्रवर्तन, सूचना प्रविधि सेवा, डेटा अर्थतन्त्र तथा आर्टिफिसियल इन्टेलिजेन्स ९एआई० को क्षेत्रीय केन्द्रका रूपमा विकास गर्ने उद्देश्यसहित राष्ट्रिय एआई नीति, राष्ट्रिय साइबर सुरक्षा नीति तथा सूचना प्रविधिसम्बन्धी कानुनी र संस्थागत संरचनाको सुधारलाई तीव्रता दिइएको बताए ।

देशभर उच्च गतिको ब्रडब्यान्ड इन्टरनेट विस्तार, सरकारी डाटा सेन्टर तथा डिजास्टर रिकभरी प्रणालीको सुदृढीकरण, डिजिटल साक्षरता अभिवृद्धि तथा दक्ष सूचना प्रविधि जनशक्ति उत्पादनमार्फत डिजिटल विभाजन न्यूनीकरण गर्दै डिजिटल समावेशिता सुनिश्चित गर्ने दिशामा सरकार अघि बढिरहेको उनको भनाइ छ ।

मन्त्री तिमिल्सिनाले सूचना प्रविधि क्षेत्रलाई रोजगारी सिर्जना, युवा प्रतिभा प्रवर्द्धन, स्टार्टअप विकास तथा राष्ट्रिय अर्थतन्त्रको नयाँ वृद्धि इन्जिनका रूपमा स्थापित गर्ने लक्ष्य लिइएको पनि बताए ।

‘डिजिटल रूपान्तरण सरकार मात्रको प्रयासले सम्भव हुँदैन । निजी क्षेत्र, प्राज्ञिक संस्था, विकास साझेदार, सञ्चारमाध्यम, प्रविधि समुदाय तथा सम्पूर्ण नागरिकको सक्रिय सहकार्य आवश्यक छ,उनले शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?