काठमाडौं । सेवानिवृत भई अनिवार्य अवकाश पाएका सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललाई फौजी परम्परा अनुसार सम्मानसहित बिदाई गरिएको छ ।
सोही अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले नवनियुक्त सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेललाई संगठन प्रमुखको छडी र सशस्त्र प्रहरी बल नेपालको झण्डा हस्तान्तरण गरेका छन् ।
वैशाख १८ गते शुक्रबार (आज) सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा आयोजित विशेष समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक अर्याललाई नवनियुक्त सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले मायाको चिनो प्रदान गर्दैै बिदाइ गरे ।
यसैगरी सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती अनिता लामिछाने अर्याललाई संघकी उपाध्यक्ष श्रीमती सावित्रा कुमारी पौडेलले फुलमालासहित बिदाइ गरिन् ।
सो अवसरमा महानिरीक्षक अर्यालले नवनियुक्त सशस्त्र प्रहरी महानिरीक्षक पौडेललाई संगठनको सम्पूर्ण जिम्मेवारी बर–बुझारथ समेत गरे ।
अर्यालले नागरिक सुरक्षाको जिम्मेवारी बोकेको सुरक्षा संगठनको सर्वोच्च तहमा पुग्नु र सफलतापूर्वक अवकाश हुनुलाई जीवनको महत्वपूर्ण उपलब्धी तथा गौरव महशुस गरेको बताउँदै संगठनलाई परिवारको रुपमा लिइ अनुशासन, त्याग, इमान्दारिता र नेतृत्वको साँचो अर्थ सिक्ने मौका मिलेको समेत बताए ।
संगठन सुधार केवल एक प्रमुखको कार्यकालमा शुरु भएर अर्को प्रमुखको कार्यकालमा सकिने विषय नभई निरन्तर चलिरहने प्रक्रिया भएको बताउँदै महानिरीक्षक अर्यालले राष्ट्र, संगठन र जनताको सुरक्षासँगै मातहत सशस्त्र प्रहरी कर्मचारीहरुको हितलाई सर्वोपरी राखी काम गरेको उल्लेख गरे ।
उनले सशस्त्र प्रहरी बल नेपालको बर्दीले सज्जनलाई भर र अपराधीलाई डरको प्रतिकको रुपमा विकास गर्दै लैजानुपर्ने बताउँदै आफ्नो सेवाकालको दौरानमा साथ, सहयोग र उर्जा दिने राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुलाई हार्दिक धन्यवाद समेत दिए ।
त्यस्तै समारोहमा नवनियुक्त महानिरीक्षक पौडेलले राष्ट्रको सुरक्षामा समर्पित जीवन कहिल्यै अवकाश नहुने, यो केवल एउटा अध्यायको समाप्ति र अर्को जिम्मेवार यात्राको शुरुवात रहेको बताउँदै सेवा निवृत्त हुन लागेका अर्याललाई आगामी जीवन सुखद, स्वस्थ, सम्मानित र सफलताको शुभकामनासहित उनको अनुभव, मार्गदर्शन र दृष्टिकोण आगामी दिनहरुमा पनि संगठन लागि मार्गनिर्देशन बनिरहने विश्वास व्यक्त गरे ।
संगठनलाई राज्य र जनताप्रति विश्वास योग्य बनाउन सशस्त्र प्रहरी कर्मचारीहरुको योगदान महत्वपुर्ण हुने बताउँदै नवनियुक्त महानिरीक्षक पौडेलले भने–‘उच्च नैतिक आचरण र दृढताले एउटा सशक्त सन्देश दिन्छ, जहाँ आचरण शुद्ध हुन्छ त्यहाँ निर्णय स्पष्ट हुन्छ, जहाँ मन दृढ हुन्छ त्यहाँ नेतृत्व विश्वसनीय हुन्छ ।’
राजु अर्यालको सक्ष्ािंप्त जीवनी तथा विशेष योगदानको बायोग्राफी समेत प्रदर्शन गरिएको उक्त समारोहमा अवकाश प्राप्त सशस्त्र प्रहरी महानिरीक्षकहरु, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु, सशस्त्र प्रहरी परिवार महिला संघका पदाधिकारी लगायत सशस्त्र प्रहरी बल नेपालका सिनियर तथा जुनियर अधिकृत र विल्लादार जवानहरुको समेत उपस्थिती रहेको थियो ।








यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया