काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीका नेता कार्यकर्ताहरुलाई चिन्तन गरेर अघि बढ्न आग्रह गरेका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले निर्वाचनमा पराजयपछि धेरैले चिन्ता गर्न थालेको बताउँदै चिन्ता भन्दा चिन्तन गरेर अघि बढ्न आग्रह गरे ।
उनले सो कार्यक्रममा आफू चिन्ताले दुब्लाएको भन्दै मान्छेहरुले सहानुभूती देखाउने गरेको समेत सुनाए ।
‘म यति दुख गरेर मेहनत गरेर हेल्थ इस्यू भएको हुनाले ६–८ महिना मेहनत गरेर १०–१२ किलो वेट (तौल) घटाएर चिटिक्क परेर गएँ भन्ठानेको जसले भेटे पनि गाला समातेको छ, बर्बाद भयो, दुब्लायो सकियो भनेको छ, तपाईँ चिन्ताले सकिनुभयो भनेको छ । खास के छ भने त्यो भन्ने चिन्तामा खर्लप्पै डुबेको छ । अरे बाबा इलेक्सन आयो, भयो हारियो सकियो । सधैँ जितिन्छ भन्ने छ र ? यो भन्दा अघि थुप्रै जितियो अहिले हारियो फेरि पछि जितिन्छ नि त !,’ उनले भने ।
आफू वीपी कोइरालाले नेतृत्व गरेको नेपाली कांग्रेसको नेतृत्व गर्न पाएकोमा गर्व लाग्ने बताए । वीपीले लिएको जिम्मेवारी आफूले लिन पाएको बताउँदै त्यसलाई पूरा गर्न सक्छु कि सक्दिन भन्ने डर रहेको बताए ।
‘नेपाली कांग्रेस पार्टीको सभापति हुँ म वीपी कोइरालाले लगाउनुभएको जुत्तामा खुट्टा हाल्न पाउने भाग्यमानी हुँ म । सानो जिम्मेवारी हो यो ? बरु डर छ मलाई, यो जिम्मेवारी निर्वाह गर्न सक्छु कि सक्दिन भन्ने कुराको । तपाईँ अघि बढ्नुस्, गर्नुस् भन्न पर्ने ठाउँमा च्याप्प गाला समातेको छ, बर्बाद भयो सकियो भनेको छ,’ उनले भने ।
सभापति थापाले वर्तमान सरकार ठिक बाटोमा नहिँडेको बताउँदै आफूहरुले खबरदारी गर्ने बताए । अहिले सरकारले विद्यार्थी संगठनदेखि ट्रेड युनियनहरु खारेज गर्न लागेकोप्रति टिप्पणी गर्दै संविधानले दिएको अधिकार कसैले पनि खोस्न नसक्ने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया