काठमाडौं । सरकारले बल्खु क्षेत्रमा रहेका अनधिकृत संरचना र सुकुमबासी बस्ती हटाउने प्रक्रिया अगाडि बढाएसँगै स्थानीय बासिन्दाहरूले सरकारको यस कदमप्रति तिब्र असन्तुष्टि र आक्रोश व्यक्त गरेका छन् ।
बल्खुस्थित सुकुमबासी बस्तीमा सात जनाको परिवारसहित बसोवास गर्दै आएका अम्बिका पुरीले सरकारले कुनै पूर्वसूचना नदिई एक्कासी बस्ती हटाउन खोजेको भन्दै दुःख व्यक्त गरे ।
उनले सरकारले विकल्पको व्यवस्था नगरी आफूहरूलाई सडकमा पुर्याएको आरोप लगाए । उनले सरकारको पछिल्लो कदमप्रति असन्तोष व्यक्त गरे ।
विगतमा निकै मेहनत गरेर बसोबासको व्यवस्था मिलाएको उल्लेख गर्दै उनले सरकारले सुकुमबासी बस्ती भत्काउनुअघि उचित व्यवस्थापन वा अर्को जग्गाको व्यवस्था गर्नुपर्ने माग गरे । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ को कार्यशैलीप्रति टिप्पणी गर्दै उनले शुरुमा केही राम्रो काम हुने आशा पलाए पनि अहिले आफूहरू बिचल्लीमा परेको बताए ।
‘हामीलाई कुनै जानकारी नै दिइएन । जानकारी दिएको भए कम्तीमा आफ्ना सामानहरू सुरक्षित ठाउँमा सार्न सकिन्थ्यो, सामानको नोक्शानी हुने थिएन । सरकारले केही पनि बन्दोबस्त गरेको छैन, खाली लखेट्ने काम मात्र भइरहेको छ । अब यत्रो परिवार लिएर हामी कहाँ जाने ? हाम्रो गन्तव्य अब सडक नै हुने देखिएको छ ।’
पुरीकाअनुसार सरकारले बिना जानकारी डोजर चलाउँदा स्थानीयको धनमालमा क्षति पुगेको छ ।
‘यो सरकारले गरेको काम राम्रो छैन । बस्ती हटाउनु नै थियो भने हामीलाई दोस्रो जग्गा वा बस्ने ठाउँको विकल्प दिनुपथ्र्यो,’ उनले भने ।
सरकारले सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका संरचना हटाउने अभियानलाई तिब्रता दिएपनि विकल्पहीन विस्थापनले सुकुम्बासी परिवारहरूमा भने अन्योल र त्रास सिर्जना गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया