गोंगबुस्थित गुम्बा भत्काउने सरकारको तयारी : बौद्ध धर्ममाथि आक्रमण गरेको आरोप

लोकपथ
0
Shares

काठमाडौं । सरकारले काठमाडौंको बालाजुस्थित ओग्यन जम्लिङ टेरमा गुम्बामा डोजर चलाउने तयारी गरेपछि बौद्ध धर्माम्बलम्विहरुले आपत्ति जनाएका छन् । 

बुद्धको २५७०औँ जन्मजयन्तिको अवसरमा विश्वभर शान्ति र समृद्धिको सन्देश फैल्याउने काम भईरहेका बेला शुक्रबार सरकारले अनधिकृत भन्दै उक्त गुम्बामा डोजर चलाउने सूचना दिएपछि उनीहरूले आक्रोश पोखेका हुन् ।

उनीहरूले सरकारको उक्त कदमलाई बौद्ध धर्ममाथिको ठाडो प्रहारको रुपमा लिँदै प्रधानमन्त्री बालेन्द्र साहको चर्को आलोचना गरेका छन् । प्रधानमन्त्री साहले आफ्नो शपथ बौद्ध भिक्षुहरुलाई राखेपछि सोही धर्मको आस्थाको केन्द्र गुम्बामा भने डोजर चलाउने काम सह्य नहुने गुम्बाका सञ्चालक उमेश लामाले बताए । उनले सरकारले बौद्ध धर्ममाथि नै आक्रमण गरेको भन्दै आपत्ति  जनाए । 

लामाले भने,‘हामी के भन्न चाहन्छौँ भने यो गुम्बा भत्किँदै गर्दा कुनै पनि बौद्धमाथि आक्रमण नहोस् । बौद्ध धर्ममाथि आस्था राख्नेहरुमाथि डोजर नचलोस् । यो गुम्बा भत्किँदै गर्दा यसमा सरकारलाई सहजीकरण गर्न हामी तयार छौ । तर के यो गुम्बा फेरि यही अवस्थामा उभिन सक्छ । भन्ने सरकारलाई मेरो प्रश्न छ । यो बौद्ध धर्ममाथिको सरकारको ठाडो प्रहार हो । किनभने हिजो बालेन्द्र साह प्रधानमन्त्री हुँदाखेरी १०७ जना भिक्षुहरु साँची राखेर शपथ खाएर डोङपिटनेहरु आज गुम्बामा डोजर चलाईदैछ । यसमा विचार पुर्‍याउनु पर्दैन ? यो कुनै पनि अतिक्रमण होइन । यो गुम्बाको नाममा ८ आना जग्गा कब्जा गर्न बौद्ध धर्ममाथि गरिएको आक्रमण हो । यस्तो काम सरकारले नगरोस् ।’ 

करिब ८ आना जग्गामा २०५७ सालमा स्थापना गरिएको सो गुम्बाको हाल १४/१५ करोड मूल्य पर्ने सो गुम्बा संचालक समितिको अनुमान छ । 

सञ्चालक समितिका सदस्य लामाले सो गुम्बा सरकार आफ्नै सम्पत्ति भए पनि डोजर आतंक चलाएर सरकारले आफ्नै सम्पत्ति नष्ट गरेको हुने जिकिर गरे । साँढे २ तले सो गुम्बाको भवन रहेको छ । त्यसमा डोजर चलाउने प्रयास गरेर सरकारले गुम्बा संरक्षण गर्ने आफ्नो दायित्व समेत बिर्सिएको भन्दै बौद्ध भिक्षुहरूको जिकिर छ । उनीहरूले ती गुम्बाहरूको संरचना भत्काउने कदमको जिम्मेवारी सरकार आफैँले लिनुपर्ने चेतावनी समेत दिएका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?