काठमाडौं । ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ भन्ने नारासहित विश्वभर आज १३७औँ अन्तरराष्ट्रिय श्रमिक दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । सन् १८८६ मा सुरु भएको मजदुर आन्दोलनको सम्झनामा हरेक वर्ष मे १ मा यो दिवस मनाउने गरिन्छ । नेपालमा पनि श्रमिक अधिकार, सामाजिक सुरक्षा र रोजगारीका विषयमा बहस तथा कार्यक्रम आयोजना गरी दिवस मनाइएको हो ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगारदाता, श्रमिक सङ्गठन तथा अन्तर्राष्ट्रिय संस्थाका प्रतिनिधिको सहभागितामा देशभर विविध कार्यक्रम आयोजना गरेको जनाएको छ । कार्यक्रममा श्रमिकको हकहित, न्यूनतम पारिश्रमिक, सामाजिक सुरक्षा, रोजगारी सृजना तथा श्रम बजारका चुनौतीबारे छलफल भइरहेको छ ।
अन्तरराष्ट्रिय श्रमिक दिवस मनाउने परम्परा फ्रान्सको पेरिसमा सन् १८८९ मा सम्पन्न श्रमिक सम्मेलनको निर्णयपछि सन् १८९० देखि सुरु भएको हो । नेपालमा भने विसं २००७ को विराटनगर मजदुर आन्दोलनपछि यो दिवस मनाउन थालिएको इतिहास छ । विसं २०४६ पछि सरकारले यस अवसरमा सार्वजनिक बिदा दिन थालेको हो ।
मजदुरहरूले दिवसलाई आफ्नो हक अधिकार सुनिश्चित गर्न सरकार र रोजगारदातामाथि दबाब दिने अवसरका रूपमा लिने गरेका छन् । पछिल्ला वर्षमा सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक १९ हजार ५५० रुपैयाँ निर्धारण गरेको छ भने प्रत्येक दुई वर्षमा पुनरावलोकन गर्ने व्यवस्था रहेको छ ।
यस्तै, योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रममा हालसम्म करिब २९ लाख श्रमिक आबद्ध भइसकेका छन् । औपचारिक क्षेत्रका थप श्रमिकलाई पनि सामाजिक सुरक्षा कोषमा समेट्ने सरकारी प्रयास जारी रहेको मन्त्रालयले जनाएको छ ।
श्रम सम्बन्ध तथा सामाजिक संरक्षण महाशाखाका प्रमुख प्रेमप्रसाद आचार्यले श्रम कानुन कार्यान्वयन तथा श्रमिक अधिकार संरक्षणमा विगतको तुलनामा उल्लेखनीय प्रगति भएको बताएका छन् ।
नेपालबाट ठूलो सङ्ख्यामा श्रमिक वैदेशिक रोजगारीमा जाने गरेका छन् । मुलुकको अर्थतन्त्रमा वैदेशिक रोजगारीबाट प्राप्त विप्रेषणको महत्वपूर्ण योगदान रहेको छ । सरकारले वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन नीतिगत सुधार गरिरहेको जनाएको छ ।
मन्त्रालयका अनुसार प्रविधिको तीव्र विकाससँगै श्रम बजारमा नयाँ चुनौती थपिएका छन् । रोजगारीको सुनिश्चितता, सीप विकास तथा वैदेशिक रोजगारीबाट प्राप्त सीप, पुँजी र अनुभवलाई स्वदेशमै उत्पादनमूलक क्षेत्रमा उपयोग गर्ने नीति सरकारले अघि बढाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया