काठमाडौं । रौतहटमा बागमती सिँचाइ आयोजनाअन्तर्गत नहर क्षेत्र अतिक्रमण गरी बनाइएका करिब ४०० घरटहरा हटाइने भएको छ । आयोजनाले सार्वजनिक सूचना जारी गर्दै संरचना हटाउन आग्रह गरे पनि अटेरी भएपछि प्रशासन बल प्रयोगको तयारीमा जुटेको हो ।
आयोजनाअनुसार रौतहटको चन्द्रपुर नगरपालिका–५ र ६ क्षेत्रमा स्थानीयले करिब २८ वर्षदेखि नहरको जमिन अतिक्रमण गरी बसोबास गर्दै आएका छन् । गत चैत २६ गते सातदिने सूचना जारी गरी नहरको दुवै किनार खाली गर्न आग्रह गरिएको थियो ।
वाग्मती सिँचाइ आयोजना कर्मैयाका आयोजना प्रमुख सन्तोष चौधरीले सूचना जारीपछि पनि अतिक्रमित संरचना नहटाइएकाले अब प्रशासन र सुरक्षा निकायको समन्वयमा हटाउने प्रक्रिया अघि बढाइने बताए । उनका अनुसार केही दिनभित्र चन्द्रपुर नगरपालिकाका प्रमुख सञ्जयकुमार काफ्ले, रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसाल तथा सुरक्षा निकायसहितको टोलीले स्थलगत अनुगमन गर्नेछ ।
आयोजनाले चन्द्रपुर नगरपालिका–१ स्थित वाग्मतीदेखि गुजरा नगरपालिकाको धन्सार खोलासम्म मूल नहर क्षेत्रको १२५ मिटर भाग खाली गराउने तयारी गरेको जनाएको छ । यसअन्तर्गत पूर्वतर्फ ६५ मिटर र पश्चिमतर्फ ६० मिटर क्षेत्र नहरअन्तर्गत पर्ने बताइएको छ ।
जलस्रोत तथा सिँचाइ विभागको निर्देशन तथा सरकारको शासकीय सुधारसम्बन्धी एक सय बुँदे कार्यसूचीअनुसार सार्वजनिक जग्गा संरक्षण, डिजिटल अभिलेख तयारी, निगरानी प्रणाली सुदृढीकरण र अवैध कब्जा हटाउने अभियानअन्तर्गत यो कदम चालिएको आयोजना प्रमुख चौधरीले बताए ।
प्रमुख जिल्ला अधिकारी भुसालले पनि नहर क्षेत्रको अतिक्रमण चाँडै हटाइने स्पष्ट पार्दै स्वतः संरचना नहटाए भत्काइने चेतावनी दिए ।
रौतहट क्षेत्र नं ४ का प्रतिनिधिसभा सदस्य गणेश पौडेलले बागमती सिँचाइ आयोजना राष्ट्रिय गौरवको आयोजना भएकाले यसको व्यवस्थापन र सिँचाइ विस्तारलाई प्राथमिकता दिनुपर्ने बताए । उनले सुनकोसी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाबाट थप पानी ल्याई सिँचाइ क्षेत्र विस्तार गर्ने योजना अघि बढाइएको जानकारी दिए । साथै, नहर क्षेत्रमा बसोबास गर्ने वास्तविक भूमिहीनको पहिचान गरी उचित व्यवस्थापन गर्नुपर्ने आवश्यकता पनि औँल्याए ।
यता, नहर क्षेत्रमा बसोबास गर्दै आएका स्थानीयले आफूहरू वास्तविक सुकुमबासी भएको दाबी गर्दै उचित व्यवस्थापनको माग गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया