काठमाडौं । पछिल्ला १५ दिनमा देशभर भएका विभिन्न प्राकृतिक विपद्का घटनामा ३४ जनाको मृत्यु भएको छ भने १३९ जना घाइते भएका छन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार वैशाख १ गतेदेखि १६ गतेसम्म देशभर ६१६ वटा विपद्का घटना दर्ता भएका छन् । ती घटनाबाट ८२९ परिवार प्रभावित भएका छन् ।
प्राधिकरणले सार्वजनिक गरेको विवरणअनुसार विपद्का कारण २५० घरमा आंशिक तथा ६५ घरमा पूर्ण क्षति पुगेको छ । यस्तै ७८ गोठमा क्षति पुगेको छ भने २१३ वटा पशुचौपाया नष्ट भएका छन् । घटनाबाट करिब १० करोड ९२ लाख ५५ हजार रुपैयाँ बराबरको आर्थिक क्षति भएको अनुमान गरिएको छ ।
घटनामध्ये आगलागी सबैभन्दा बढी देखिएको छ । २६७ वटा आगलागीका घटनामा आठ जनाको मृत्यु भएको छ भने ठूलो धनमालको क्षति भएको छ । आगलागीबाट मात्रै करिब नौ करोड ७५ लाख रुपैयाँ बराबरको क्षति पुगेको प्राधिकरणले जनाएको छ ।
त्यस्तै, चट्याङका ७४ घटनामा नौ जनाको ज्यान गएको छ भने ४९ जना घाइते भएका छन् । ४४ वटा हुरीका घटनाबाट ३१९ परिवार प्रभावित भएका छन् भने करिब ८३ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।
यस अवधिमा सर्पदंश, जनावरको आक्रमण, जङ्गल डढेलो, पहिरो, भारी वर्षा तथा बाढीका घटनासमेत भएका छन् । जङ्गल डढेलोका १२८ घटनामा मानवीय क्षति न्यून भए पनि भौतिक क्षति उल्लेखनीय रहेको प्राधिकरणको भनाइ छ ।
प्राधिकरणकी प्रवक्ता शान्ति महतले सुक्खा मौसम, तापक्रम वृद्धि तथा मानवीय लापरवाहीका कारण आगलागी र जङ्गल डढेलोका घटना बढिरहेको बताइन् । उनले विपद् जोखिम न्यूनीकरणका लागि पूर्वतयारी, जनचेतना र प्रभावकारी व्यवस्थापन आवश्यक रहेको उल्लेख गरिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया