बाजुरामा हावाहुरी, पहिरो र चट्याङको कहर : १६ भेडाबाख्रा मरे, ३८ बेपत्ता

लोकपथ
0
Shares

काठमाडौं । बाजुरामा मंगलबार साँझ आएको हावाहुरीसहितको वर्षा, पहिरो र चट्याङका कारण ठूलो क्षति भएको छ । जिल्लाका विभिन्न स्थानमा १६ वटा भेडाबाख्रा मरेका छन् भने ३८ वटा बेपत्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक तथा प्रवक्ता नरेशबहादुर शाहीका अनुसार जगन्नाथ गाउँपालिका–२ माथिल्लो हुनीस्थित वन क्षेत्रमा चराउन लगिएका चौपाया घर फर्काउने क्रममा वर्षासँगै आएको पहिरो र चट्याङबाट क्षति भएको हो ।

स्थानीय चैनबहादुर विष्टका दुई वटा भेडा मरेका छन् भने नौ वटा बेपत्ता भएका छन् । त्यस्तै अमृत ल्वारका तीन वटा भेडा पहिरोमा परी मरेका र १४ वटा बेपत्ता भएका छन् ।

भीषण वर्षापछि आएको पहिरोमा पुरिएर सोही वडाका अन्य स्थानीय किसानका पाँच वटा चौपाया मरेका तथा १० वटा बेपत्ता भएका प्रहरीले जनाएको छ । साथै ऐनबहादुर विष्टका तीन वटा बाख्रा मरेका र पाँच वटा बेपत्ता भएका छन् ।

त्यसैगरी त्रिवेणी नगरपालिका–९ पैमाको खोया लेकमा स्थानीय कुलबहादुर साउदको गोठमा चट्याङ लाग्दा तीन वटा भेडाबाख्रा मरेका छन् ।

यता, खप्तड छेडेदह गाउँपालिका–१ काँडाको काँट्यामा मंगलबार आएको हुरीले स्थानीय वीरे रावलले सञ्चालन गरेको पसलमा समेत क्षति पुर्‍याएको छ । काठ र जस्तापाताले बनेको भुइँतले पसल हुरीले उडाउँदा लत्ताकपडा तथा सिलाउने मेसिनमा क्षति पुगेको प्रहरीले जनाएको छ ।

प्रहरी चौकी कुन्ना, प्रहरी चौकी बडीमालिका र प्रहरी चौकी काँडाबाट खटिएको टोलीले क्षतिको विवरण सङ्कलन गरिरहेको प्रहरीले जनाएको छ ।

उता, हुरीबतास र असिनापानीका कारण पाकेको गहुँबालीमा समेत क्षति पुगेको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?