बजारमा केराको भाउ उच्च तर मूल्य नपाएको किसानको गुनासो

लोकपथ
0
Shares
file photo

काठमाडौं । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा व्यावसायिक केराखेती गर्दै आएका किसानले उत्पादनअनुसार उचित मूल्य नपाएको गुनासो गरेका छन् । बजारमा उपभोक्ताले महँगो मूल्यमा केरा किन्नुपरेको भए पनि किसानले सस्तो मूल्यमा बेच्न बाध्य हुनुपरेको गुनासो गरेका हुन् ।

मध्यविन्दु नगरपालिका–६ बरुवाका किसान दुर्गाप्रसाद भुर्तेल उत्पादनअनुसार मूल्य नपाउँदा बीचमै व्यवसाय छोड्नुपर्ने अवस्था आएको गुनासो गरे । विगत ३० वर्षदेखि केराखेती सुरु गर्नुभएका उहाँले नौ वर्षयता व्यावसायिक केराखेती गर्दै आएका हुन् ।

‘हाल केरा बेच्दा प्रतिकोसा पाँच–छ मात्रै पाइरहेका छौँ । लागत, मेहनत र जोखिम हेर्दा यो मूल्यले त टिक्नै गाह्रो छ,’ भुर्तेलले भने, ‘रोग–किरा, हावाहुरी तथा असिनापानीका कारण उत्पादनमा समेत निरन्तर असर परिरहेको छ, जसले लागत झन् बढाएको छ ।’

यस्तै, कावासोती नगरपालिका–१३ की फुलकुमारी महतोले अन्य बालीभन्दा राम्रो आम्दानी हुने अपेक्षासहित चार बिघा जमिनमा केराखेती गर्दै आए पनि उचित मूल्य नपाउँदा निराशा बढ्दै गएको बताइन् । ‘लाखौँ लगानी गरेर खेती गरेका छौँ, तर सस्तोमा बेच्नुपरेको छ, तर बजारमा भने उपभोक्ताले महँगो तिरिरहेका छन् । बीचमा कसले फाइदा लिएको छ, बुझ्नै गाह्रो छ,’ उनले भनिन् ।

कावासोती कृषिउपज थोक बजार व्यवस्थापन समितिका अनुसार आज केराको थोक मूल्य प्रतिदर्जन एक सय ३२ र खुद्रा मूल्य एक सय ५० सम्ममा बिक्री भइरहेको छ । किसानले भने यही केरा प्रतिदर्जन रु ६० देखि रु ७२ सम्म मात्र पाउने गरेका छन् । किसान र उपभोक्ताबीचको यो ठूलो मूल्य अन्तरले बजार प्रणालीप्रति नै प्रश्न उठाएको छ ।

बिचौलिया नियन्त्रण, उचित समर्थन मूल्य निर्धारण तथा प्रत्यक्ष बजार पहुँच सुनिश्चित गर्नसके आफूहरूलाई राहत मिल्ने किसान दुर्गाप्रसाद भुर्तेलले बताए । समयमै प्रभावकारी नीति नल्याए केराखेतीप्रति किसानको आकर्षण घट्ने जोखिम रहेको उनले बताए ।

कृषि विकास कार्यालयका सूचना अधिकारी सञ्जय ढकालका अनुसार जिल्लामा हाल पाँच सय ५१ हेक्टर क्षेत्रफलमा केराखेती हुँदै आएको छ । उत्पादन बढ्दो क्रममा रहे पनि बजार व्यवस्थापन र मूल्य निर्धारणमा भने असन्तुलन रहेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?