बस्ती छाड्दै मनोहराका सुकुमबासी

लोकपथ
35
Shares

भक्तपुर । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१ लोकन्थलीस्थित मनोहरा खोला किनारका सुकुमबासी बासिन्दाले बस्ती खाली गर्न थालेका छन् ।

सार्वजनिक तथा निजी जग्गा अतिक्रमण गरेर बनाइएका संरचना हटाउने सरकारी अभियान सुरु भएसँगै स्थानीयले स्वेच्छाले बस्ती छाड्न थालेका हुन् ।

जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काका अनुसार दिउँसो २ बजेसम्म करिब ८० प्रतिशत बासिन्दाले सामान सारेर बस्ती छाडिसकेका छन् । बाँकीले पनि स्थानान्तरणको प्रक्रिया जारी राखेका छन् ।

प्रहरीले यसअघि नै माइकिङ गर्दै बस्ती खाली गर्न र वास्तविक सुकुमबासीलाई सरकारको सम्पर्कमा आउन आग्रह गरेको थियो । सोहीअनुसार अधिकांश बासिन्दाले अभियानमा सहयोग गरेका हुन् ।

सरकारले यसअघि थापाथली क्षेत्रको बस्ती हटाइसकेको र हाल तीनकुने–गैह्रीगाउँ क्षेत्रको बस्ती हटाउने काम भइरहेको जनाइएको छ । उक्त कार्य सम्पन्न भएपछि मनोहरा क्षेत्रका बाँकी संरचना हटाइने तयारी रहेको प्रहरीको भनाइ छ ।

मनोहरा बस्तीमा करिब ७७७ घरटहरा रहेको र करिब एक हजार ६०० भन्दा बढी मानिस बसोबास गर्दै आएका छन् । तीमध्ये केही दुईतले पक्की घर भए पनि अधिकांश जस्ताका टहरा र ब्लकका घर रहेका छन् ।

बस्ती हटाउने तयारीस्वरूप नेपाल प्रहरी र सशस्त्र प्रहरीका १०० भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । आज साँझसम्म भत्काउने काम सुरु गर्ने लक्ष्य राखिएको छ ।
स्थानीय बासिन्दा सुनिल लामाले आफूहरू लामो समयदेखि टहरा किनेर बस्दै आएको बताउँदै सरकारसँग उचित व्यवस्थापनको माग गरे । उनका अनुसार बस्तीमा घर किनबेच र भाडामा बस्ने चलन समेत रहेको छ ।

सुकुमबासीहरूले उचित क्षतिपूर्ति वा वैकल्पिक बसोबासको व्यवस्था गरिदिए खोलाको किनारमा बसिरहन नपर्ने बताएका छन् । उनीहरूले सरकारसँग मानवीय र दिगो समाधानको अपेक्षा गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?