काठमाडौं । शिक्षा, विज्ञान तथा सूचना प्रविधि मन्त्री सस्मित पोखरेलले सरकारले सुकुमबासी समस्यालाई राजनीतिक मुद्दा नबनाई दीर्घकालीन समाधानतर्फ केन्द्रीत भएको बताएका छन् ।
शुक्रबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री पोखरेलले सुकुमबासी बस्ती हटाउने नाममा बल प्रयोग नगर्ने स्पष्ट पारे । उनले जबरजस्ती डोजर प्रयोग गर्ने वा प्रहरी परिचालन गरेर हटाउने नीति सरकारको नरहेको बताए ।
उनका अनुसार बाढी तथा अन्य विपद्को उच्च जोखिममा रहेका बस्तीका बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न सरकार आग्रह र सहमतिका आधारमा अघि बढिरहेको छ । विगतमा बाढीका कारण नदीकिनारका बस्तीमा बसोबास गर्ने नागरिकले सरसामान छाडेर भाग्नुपर्ने अवस्था दोहोरिँदै आएकाले यसपटक पूर्वतयारीस्वरूप सुरक्षित स्थानमा सार्ने प्रक्रिया सुरु गरिएको उनले बताए ।
मन्त्री पोखरेलले सुकुमबासी समस्यामा राजनीति नगरी व्यावहारिक समाधान खोज्न सरकार प्रतिबद्ध रहेको दोहोर्याए ।
फरक प्रसंगमा उनले सरकारले संसदलाई पर्याप्त विधेयक तथा काम उपलब्ध गराउन नसकेको अवस्थालाई ध्यानमा राख्दै यसअघि बोलाइएको संसद अधिवेशन स्थगनका लागि सिफारिस गरिएको जानकारी दिए । साथै, अध्यादेशमार्फत कानून निर्माण गर्ने पक्षमा सरकार नरहेको पनि उनले स्पष्ट पारे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया