मलको बोरामा चिनी तस्करी ! एआईजी ठाडामगर भन्छन्– ‘यो साल कडाइ गरेका छौँ’

लोकपथ
252
Shares

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालका अतिरिक्त महानिरीक्षक (एआईजी) गणेश ठाडा मगरले नेपाल भारत सीमा नाकामा किसानलाई मल आयात गर्दा कुनै अवरोध सिर्जना नहुने बताएका छन् ।

बिहीबार बसेको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै उनले मल आयातमा सहजीकरण गरिएको बताए ।

उनले मल आयातमा दुःख दिने कुरा पुरानो भइसकेको उल्लेख गर्दै यस वर्ष मल आयातमा नरोक्ने गरी सीमा सुरक्षा पोस्ट (बीओपी) लाई निर्देशन दिएको जानकारी दिए ।

साथै एआईजी ठाडामगरले सीमानाकामा मल आयात गर्दा दुःख दिएको पाइएमा खबर गर्न पनि आग्रह गरे । उनले खुला सीमाको फाइदा उठाएर मलको नाममा अरु वस्तु तस्करी हुने गरेको उल्लेख गर्दै चेकजाँच लगायतका कार्य भने भइरहेको बताए ।

मलको बोरामा चिनी लगायतका वस्तु आयात हुने गरेको बताउँदै उनले तस्करी नियन्त्रणमा भने सशस्त्र प्रहरी बल निर्मम भएर लाग्ने बताए ।

किसानलाई भारतबाट आवश्यक मल ल्याउन भने कुनै कडाई नगरेको एआईजी ठाडामगरको दाबी रहेको छ ।

‘यो साल हामीले मल आयातमा नरोक्ने गरी निर्देशन दिएका छौँ । मल आयातमा दुःख दिएको कतै जानकारीमा पाए उजुरी गर्नुहोला हामी तत्काल कारबाही गर्नेछौँ । नेपाल–भारत सीमाको ९४७ स्थानमा बाटो नै छ । खुला सीमाना १ हजार ८४८ किलोमिटर सिमाना खुला हुँदाखेरी जताततैबाट हिँड्नसक्ने हुँदा सबै ठाउँमा हाम्रो जनशक्ति पुग्दैन । त्यसको फाइदा उठाएर मल भनेर अरु चीज आयात हुने गरेको पाईन्छ । मलको बोरामा चिनी ल्याउने तथा अरु तस्करी हुने हुँदा त्यसलाई नियन्त्रण गर्नको लागी हामीले आकस्मिक कार्यहरु गरिरहेका छौँ । मलको आयातमा भने कडाई गरिएको छैन,’ उनले भने ।

समितिको बैठकमा सांसदहरुले सीमा सुरक्षा पोस्ट (बीओपी) मा सशस्त्र प्रहरी बलले किसानलाई मल ल्याउन दुःख दिएको गुनासो गरे ।

मौसमजन्य विपद् व्यवस्थापनका लागि देशभर ६० वटा अस्थायी बेस स्थापना गर्ने तयारी

त्यस्तै सशस्त्र प्रहरी बलले विपद् व्यवस्थापन र उद्धार कार्यलाई सुदृढ बनाउन देशभर स्थायी र अस्थायी संरचना बनाउने भएको छ ।

उक्त बैठकमा बोल्दै एआईजी ठाडा मगरले ९ वटा विपद् व्यवस्थापन सम्बन्धी स्याथी बेस र ६० वटा अस्थायी बेस सञ्चालन ल्याउन लागेको जानकारी दिए । उनकाअनुसार हालै सुनसरीको चतरा, सप्तरीको भारदह, काभ्रेको भकुण्डे, डोटीको बोर्डर, गोरखाको आरुटार र जुम्लाको सीमामा ६ वटा बेस स्थापना गरिएको छ ।

‘सशस्त्र प्रहरी बलको तालिम केन्द्र कुरिनटार, उच्चपर्वतीय उद्धार तालिम शिक्षालय मनाङ, विशेष कार्य शिक्षालय सप्तरी र विपद् उद्धार गण गरेर चार वटा स्थायी उपरेशनल युनिट स्थापना भएको छ । विभिन्न खालका विपदजन्य तालिम गोताखोरसहितका ४ हजार ५१३ जनाले लिएका छन्, उनीहरुलाई विभिन्न युनिटहरुमा परिचालन गरिएको छ । हेडक्वाटरदेखि विओपीसम्म अहिले हामीले विपद् डेडिकेटट टिम गठन गरेका छौँ । त्यसमा ८ हजार ११० जना सशस्त्र प्रहरी कर्मचारी परिचालित भएर काम गरिरहेका छन् । ९ वटा विपद् व्यवस्थापन वेश स्थापना गरेर काम गर्दैछौँ, हालै ६ वटा वेश सुनसरीको चतरा, सप्तरीको भारदह, काभ्रेको भकुण्डे, डोटीको बोर्डर, गोरखाको आरुटार र जुम्लामा गरि थप ६ वटा स्थानमा विपद् व्यवस्थापन वेश स्थापना गरेर काम गर्दैछौँ । विशेष गरेर मौषमजन्य विपदको लागी विपद् अस्थायी वेश ६० वटा स्थापना गरेर काम गर्ने चरणमा छौँ । गतसालबाट सशस्त्र प्रहरी वलले नयाँ अवधारण ल्याएर विपद् स्वयंसेवक तालिम भनेर विभिन्न वडामा जनशक्ति उत्पादन गर्नेगरि तालिम संचालन गरेका छौँ । गतसाल ९९० जनाले तालिम प्राप्त गरेका थिए । अहिले २२९ जनाले तालिम प्राप्त गरेका छन् र १३५ जना अरु थप तालिमरत हुनुहुन्छ । यस्तै गतसालबाट हरेक वडामा हामीले २५ जनाको दरले विपद् सूचक विकास गराउनेगरि काम गरिरहेका छौँ । काम गर्दैजादाँ कतिपय ठाउँहरुमा विपद् सामाग्री अभावले भनेजस्तो काम गर्न सकेका छैनौ । तथापी हामीले विभिन्न समयमा विभिन्न निकायसंग समन्वय गरेर उद्धारको लागी आवश्यक सामग्रीहरु संकलन गरिरहेका छौँ । हाम्रो ५ सय ४७ वटा युनिटहरु छन्, तत युनिटहरुमा आधारभुत सामाग्रीहरु अझै पनि पुर्‍याउन सकेका छैनौ । विपद् प्राधिकरण र मन्त्रालयसंग आवश्यक सामाग्रीको माग गरेका छौँ । प्रदेश तथा स्थानिग तहसंग समन्वय गरेर समेत सामाग्री जुटाउने काम भईरहेको छ,’ उनले भने ।

संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा वर्षायामको शुरूवातसँगै आगलागी, बाढी, पहिरो, महामारी लगायत विपद्जन्य जोखिमहरूको न्युनिकरण, विपद प्रतिकार्य र विपद् पुनर्लाभको तयारीका बारेमा छलफल भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?