९ महिनामा विदेशबाट ३७९ नेपालीको शव नेपाल ल्याइयो

लोकपथ
28
Shares
फाइल तस्बिर

काठमाडौं । सरकारले चालु आर्थिक वर्षको चैत मसान्तसम्म अर्थात् ९ महिनाको अवधिमा विदेशमा मृत्यु भएका नेपाली नागरिकहरुमध्ये ३७९ जनाको शव नेपाल झिकाएको छ ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको वैदेशिक रोजगार बोर्डको सचिवालयले यो अवधिमा बोर्डको समन्वयमा ३ सय ७९ शव नेपाल झिकाएको हो ।

बोर्डले जारी गरेको सूचना अनुसार चालु आवको सुरु महिना साउनदेखि फागुनसम्म ३२० वटा शव झिकाएकोमा चैतमा मात्रै ५९ गरी कुल ३७९ शव नेपाल झिकाएको हो ।

त्यस्तै यसअवधिमा यसअघि नै झिकाइएका ७८९ शव परिवारलाई हस्तान्तरण गरिएको छ ।

विश्वका विभिन्न देशमा अलपत्र १४९ नेपाली नागरिकहरुको उद्दार तथा खोजतलास गरिएको छ । त्यस्तै वैदेशिक रोजगारीमा रहेका परिवारहरुमध्ये ३५२ परिवारलाई औषधिउपचारमा सहयोग गरेको छ ।

रोजगारीका क्रममा विभिन्न देशमा अंगभंग तथा गम्भीर बिरामी परेका ७१६ जनालाई आर्थिक सहायता उपलब्ध गराइएको बोर्डले जनाएको छ ।

यता मृतक कामदारका ११ सय १५ परिवारलाई आर्थिक सहायता उपलब्ध गराइएको छ । वैदेशिक रोजगारमा रहेका कामदारहरुको सन्ततीमध्ये ३ हजार ७ सय ६९ जनालाई छात्रवृत्ति उपलब्ध गराइएको छ । चालु आवको हालसम्मको अवधिमा ११ सय ७ जना वैदेशिक रोजगारीमा जाने कामदारहरुलाई अभिमुखिकरण तालिमको व्यवस्था गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?