काठमाडौं । काठमाडौं उपत्यकाको वायु प्रदूषण पुनः ‘अति अस्वस्थकर’ तहमा पुगेको छ । वातावरण विभागका अनुसार बिहीबार बिहान साढे ९ बजे काठमाडौंको एयर क्वालिटी इन्डेक्स (एक्यूआई) २३१ पुगेको छ, जुन जनस्वास्थ्यका लागि जोखिमपूर्ण मानिन्छ ।
स्वीट्जरल्यान्डस्थित अन्तर्राष्ट्रिय वायु गुणस्तर मापन संस्था आईक्यू एयरको तथ्यांकअनुसार काठमाडौं हाल विश्वकै सबैभन्दा प्रदूषित सहरमध्ये दोस्रो स्थानमा रहेको छ । सूचीमा पाकिस्तानको लाहोर पहिलो स्थानमा छ, जसको एक्यूआई २६१ रहेको देखिन्छ ।
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का अनुसार एक्यूआई २०१ देखि ३०० सम्मको अवस्था ‘अति अस्वस्थकर’ मानिन्छ भने सोभन्दा माथि पुगेमा अवस्था ‘खतरनाक’ बन्दै जान्छ ।
वातावरण विभागका अनुसार दाङको देउखुरी, भक्तपुर, काठमाडौंका रत्नपार्क र शंखपार्क, साथै सुर्खेतलगायत क्षेत्रमा पनि वायुको गुणस्तर अत्यन्तै खराब देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वायु प्रदूषणका कारण मुटु, फोक्सो, रक्तनली, दम, क्यान्सर, आँखा तथा मिर्गौलासम्बन्धी समस्या बढ्न सक्ने चेतावनी दिएको छ । विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती तथा दीर्घरोगी बढी जोखिममा रहने मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले यस्तो अवस्थामा बिहान–बेलुका सकेसम्म घरबाहिर ननिस्कन र निस्कनै परे मास्क अनिवार्य रूपमा प्रयोग गर्न आग्रह गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया