नयाँ बसपार्कबाटै सवारी सञ्चालन गर्न तीन दिनको अन्तिम ‘अल्टिमेटम’

लोकपथ
147
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले नयाँ बसपार्कबाट एकीकृत रूपमा यात्रुवाहक सवारी सञ्चालन गर्न अन्तिम तीन दिनको समय दिएको छ ।

गत महिना सार्वजनिक सूचना जारी गर्दै लामो तथा छोटो दूरीका बस सेवा बसपार्कभित्रैबाट सञ्चालन गर्न आग्रह गरिएको थियो । तर उक्त निर्देशन पालना नगर्ने कम्पनीहरूलाई अब तीन दिनभित्र एकीकृत प्रणालीमा आउन अन्तिम मौका दिइएको कार्यवाहक मेयर सुनिता डङ्गोलले जानकारी दिइन् ।

सहरी यातायात व्यवस्थापन, आवागमन सहजता तथा सुरक्षालाई लक्षित गर्दै महानगरले नेपाल प्रहरीसँग समन्वय गरेर संयुक्त अनुगमन टोली गठन गर्ने तयारी पनि गरेको छ । महानगर प्रहरी बलका प्रमुख विष्णुप्रसाद जोशीलाई समन्वय गरेर प्रभावकारी नियमन गर्न निर्देशन दिइएको छ ।

ठमेललगायत रात्रिकालीन व्यवसाय सञ्चालन हुने क्षेत्रबाट ध्वनि प्रदूषण, अवाञ्छित गतिविधि तथा छात्राबास सम्बन्धी समस्याका गुनासा बढ्दै गएको उल्लेख गर्दै महानगरले संयुक्त अनुगमनबाट सुधार ल्याउने अपेक्षा गरेको छ ।

यसैबीच, अतिरिक्त प्रहरी महानिरीक्षक ईश्वर कार्कीले सहरी सुरक्षामा प्रविधिमैत्री निगरानी आवश्यक रहेको बताएका छन् भने उपत्यका ट्राफिक प्रहरी प्रमुख नवराज अधिकारीले सडक अनुशासन कायम गर्न महानगर र ट्राफिक प्रहरीबीच सहकार्य बढाउनुपर्नेमा जोड दिएका छन् ।

प्रहरीका अनुसार काठमाडौंबाट दैनिक करिब ७०० सार्वजनिक सवारी बाहिरिने गरेका छन्, जसमध्ये झण्डै ३५० बसपार्क बाहिरैबाट सञ्चालन हुने गरेका छन्। नयाँ बसपार्क १६१ रोपनी क्षेत्रफलमा फैलिएको छ र यहाँ ७५० सवारी व्यवस्थापन गर्न सकिने क्षमता रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?