गृहमन्त्री सुधन गुरुङलाई बर्खास्त गरेर पक्राउ गर्न जेनजी मुभमेन्ट नेपालको माग 

लोकपथ
413
Shares

काठमाडौं । जेनजी मुभमेन्ट नेपालले गृहमन्त्री सुधन गुरुङलाई पदबाट बर्खास्त गरेर पक्राउ गर्न माग गरेको छ । साथै जेनजी मुभमेन्ट नेपालले गृहमन्त्री गुरुङमाथि लागेका आरोपहरूमा निष्पक्ष छानबिन हुनु पर्ने माग पनि अघि सारेको छ ।

जेनजी मुभमेन्टले विभिन्न शंकास्पद गतिविधिमा नाम जोडिएको भन्दै यी माग अघि सारेको हो । 

प्रवक्ता विजय शाहले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘पदमै रहेर अनुसन्धान गर्न गाह्रो हुन्छ र न्याय प्रक्रियामै समस्या आउँछ ।’

जेनजी मुभमेन्टले भनेको छ, ‘मन्त्री कसलाई बनाउने भन्ने विषय गम्भीर विषय हो, वर्तमान सरकारले परिपक्व, नेतृत्वदायी र दूरदर्शिता देखाउनै पर्छ ।’

मुभमेन्टले ७६ जनाको रगतले आएको परिवर्तनमा दोषी देखिएका, आरोप लागेकाहरू न्यायको कठघरामा आउनु पर्ने पनि बताएको छ । उसले सरकारलाई पद, शक्ति र राजनीतिक संरक्षण कसैलाई हुन नहुने बताएको छ ।

गृहमन्त्री गुरुङ चर्चित बिचौलिया तथा विवादास्पद व्यापारी दीपक भट्ट समूहले सेटिङमा हात पारेको एक लघु बिमा कम्पनीको पनि शेयर होल्डर रहेको तथ्य भेटिएपछि विवादमा मुछिएका छन् । 

सुजन आचार्य संस्थापक अध्यक्ष रहेको यो कम्पनीमा चार जना सञ्चालक छन् । हाल अध्यक्ष रहेकी प्रजुनी बज्राचार्य भट्टकै स्वामित्व रहेको इन्फिनिटी होल्डिङकी कर्मचारी हुन् । उनीसमेत सञ्चालक रहेको कम्पनीमा ५७ जना संस्थापक शेयर धनी छन् । दीपक भट्टसँग विवादास्पद कारोबारमा मुछिएको शंकर समूहको स्वामित्व रहेको जगदम्बा इन्टरप्राइजेजको उक्त कम्पनीमा २५ लाख रुपैयाँ बराबरको सेयर देखिन्छ । त्यति बराबरको रकम अर्थात् २५ लाख रुपैयाँको सेयर हालका गृहमन्त्री सुधन गुरुङको समेत रहेको तथ्य बाहिरिएको हो । उनले यो कुरा अघिल्लो हप्ताको सम्पत्ति विवरणमा भने उल्लेख गरेका छैनन् ।

भट्ट हाल सम्पत्ति शुद्धीकरणसम्बन्धी अपराधको अभियोगमा ललितपुरको सानेपास्थित प्रहरी हिरासतमा छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?