अब घरबाटै एनओसी लिन सकिने

लोकपथ
231
Shares

काठमाडौं । वैदेशिक अध्ययनमा जाने नेपाली विद्यार्थीका लागि ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) लिन अब कार्यालय धाउनुपर्ने बाध्यता हटेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत सानोठिमीस्थित एनओसी शाखाले सेवा पूर्ण रूपमा अनलाइन बनाउँदै ‘फेसलेस’ प्रणाली लागू गरेको हो ।

यसका लागि एनओसी अनलाइन पोर्टललाई त्रिभुवन विश्वविद्यालय (त्रिवि) र काठमाडौं विश्वविद्यालय (केयू) का प्रणालीसँग एपीआईमार्फत जोडिएको छ । त्रिविसँग वैशाख ४ गते सम्झौता भएको हो भने केयूसँग यसअघि नै सहकार्य भइसकेको छ ।

अब विद्यार्थीहरूले घरबाटै अनलाइन आवेदन दिन सक्नेछन् र प्रक्रिया पूरा भएपछि प्रमाणपत्र आफैं डाउनलोड तथा प्रिन्ट गर्न मिल्ने व्यवस्था गरिएको छ । एनओसी सर्टिफिकेटमा क्यूआर कोड रहनेछ, जसलाई स्क्यान गरेर प्रमाणिकरण गर्न सकिनेछ ।

यसअघि स्नातकोत्तर वा सोभन्दा माथिको अध्ययनका लागि आवेदन दिँदा विश्वविद्यालयका प्रमाणपत्र रुजु गर्न सेवाग्राहीलाई अनिवार्य रूपमा कार्यालय पुग्नुपर्ने बाध्यता थियो । अब त्रिवि र केयूको प्रणालीसँग सीधा अन्तरआवद्धता भएपछि रजिस्ट्रेसन नम्बर र जन्ममितिका आधारमा प्रमाणपत्रको विवरण स्वतः प्रमाणीकरण हुने भएकाले भौतिक उपस्थितिको आवश्यकता हटेको छ ।

यसअघि नै नागरिकता विवरण गृह मन्त्रालयको ‘सिटिजन इन्फरमेसन म्यानेजमेन्ट सिस्टम’ (सीआइएमएस) र शैक्षिक विवरण राष्ट्रिय परीक्षा बोर्डसँग जोडिएको प्रणालीबाट प्रमाणीकरण हुँदै आएको थियो ।

यस्तै, महालेखा नियन्त्रण कार्यालयको ‘रेभिन्यू इन्फरमेसन क्यासलेस म्यानेजमेन्ट सिस्टम’ (रिमास) सँग जोडिएकाले एनओसी शुल्क पनि पूर्ण रूपमा अनलाइनमार्फत भुक्तानी गर्न सकिनेछ ।

एनओसी शाखाका अनुसार नयाँ प्रणाली लागू भएसँगै सेवा छिटो, पारदर्शी र झन्झटमुक्त बन्ने अपेक्षा गरिएको छ । अब वैदेशिक अध्ययनका लागि आवश्यक प्रमुख कागजातमध्ये एक एनओसी लिन सेवाग्राहीलाई लाइन बस्नुपर्ने वा कार्यालय धाउनुपर्ने अवस्था अन्त्य भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?