२४ घण्टामा २० विपद्का घटना : २२ लाख बढीको क्षति

लोकपथ
28
Shares

काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकका विभिन्न भागमा आगलागी, वन डढेलो र सर्पदंशका २० वटा विपद्का घटनाहरू भएका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकाअनुसार यी घटनाहरूमा कुनै मानवीय क्षति नभए पनि पाँच जना घाइते भएका छन् भने लाखौँको धनमाल नष्ट भएको छ । 

रामेछापको खाँडादेवी गाउँपालिका–४ मा विद्युत् सर्ट भई एकै घरमा १५ लाख बराबरको सुनचाँदी र नगद नष्ट भएको छ । 

यस्तै, सुनसरीको बराहक्षेत्र–७ मा भएको आगलागीमा ५ लाख ६० हजारको धनमाल जलेर नष्ट भएको छ । नवलपरासी (पश्चिम), पर्वत र झापामा पनि आगलागीले ठुलो क्षति पुर्‍याएको छ । 

रौतहटमा गुडिरहेको स्कार्पियो गाडीको इन्जिनमा आगलागी हुँदा गाडीमा क्षति पुगेको छ । गर्मी बढ्दै जाँदा वन डढेलोको जोखिम पनि बढिरहेको छ । 

मकवानपुर, नवलपरासी (पूर्व) र पाल्पाका विभिन्न सामुदायिक वनहरूमा डढेलो लागेको छ । प्राधिकरणको रिपोर्टअनुसार वन डढेलो नियन्त्रणका लागि स्थानीय समुदाय र सुरक्षा निकायको सक्रियता रहँदै आएको छ ।

सर्पदंशका कारण झापा, पाल्पा र बर्दियामा तीन जना घाइते भएका छन् । कैलालीको टीकापुरमा खाना पकाउने क्रममा ७७ वर्षीया वृद्धा घाइते भएकी छिन् भने सर्लाहीमा घोडाको आक्रमणबाट एक व्यक्ति घाइते भएका छन् । 

घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । सुर्खेतमा वनमा चराउन लगिएका २१ मध्ये ५ बाख्रा मृत र ७ घाइते अवस्थामा फेला परेका छन् । 

सबै घटनाहरूमा स्थानीय समुदाय, प्रहरी र दमकलको सक्रियतामा आगो नियन्त्रणमा लिने प्रयास गरिएको थियो । प्राधिकरणले आगलागी र डढेलोबाट बच्न सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?