इनरुवा । सुनसरीको बर्जु गाउँपालिका–४ बाट गैँडाको खागसहित पक्राउ परेका चारजनामाथि अनुसन्धान सुरु गरिएको छ ।
पक्राउ पर्नेमा बर्जु–६ का ३९ वर्षीय राजेशकुमार उराँव, ३१ वर्षीय जीवन चौधरी, बर्जु–५ का ३३ वर्षीय रविनकुमार यादव र मोरङको पथरी शनिश्चरे नगरपालिका–१ का ४० वर्षीय नारायणप्रसाद घिमिरे रहेका डिभिजन वन कार्यालय सुनसरीले जनाएको छ ।
बर्जु तालनजिकै खागको तौल लिँदै गर्दा सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराह वाहिनी पक्कलीबाट खटिएको टोलीले उनीहरूलाई बिहीबार ९वैशाख ३० पक्राउ गरेको थियो । आरोपित र खाग आफूहरूलाई बुझाएसँगै अनुसन्धान सुरु गरिएको डिभिजन वन कार्यालय इनरुवाका डिभिजनल वन अधिकृत रितेशभूषण बस्नेतले जानकारी दिए ।
अनुसन्धानका निम्ति कार्यालयका वैजुकुमार साहलाई अनुसन्धान अधिकृत तोकिएको छ । गैँडाको खागजस्तो ल्याइएको वस्तु परीक्षणका निम्ति राष्ट्रिय विधि विज्ञान प्रयोगशाला खुमलटार ९ललितपुर०मा पठाइएको छ ।
परीक्षण रिपोर्टका आधारमा कानुनी प्रक्रिया अगाडि बढाइने उनले बताए । यसको सञ्जाल ठूलो भएको उनको बुझाइ छ ।
खागका पछाडि एउटा ठूलो समूहको सञ्जाल भएको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको डिभिजनल वन अधिकृत बस्नेतले बताए ।
कहाँबाट ल्याइएको र कता लैजान खोजिएको विषयमा यकिन हुन बाँकी छ । पक्राउ परेकाविरुद्ध राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अन्तर्गत अनुसन्धान अघि बढाइने डिभिजन वन कार्यालय प्रमुख शिवनारायण मण्डलले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया