काठमाडौं । असन क्षेत्रको मौलिकता जोगाउन काठमाडौं महानगरपालिका ले ‘भेहिकल फ्रि असन’ कार्यक्रम आजदेखि सुरु गरेको छ ।
कामपाका कार्यवाहक प्रमुख सुनिता डंगोल का अनुसार कःमिलाछी (कमलाक्षी) चोकदेखि असन, भोटाहिटी चोकदेखि असन र महाबौद्धदेखि असनसम्मका क्षेत्रमा कार्यक्रम लागू गरिएको छ । हरेक शनिबार सञ्चालन हुने यस कार्यक्रम अवधिमा उक्त क्षेत्रमा सवारीसाधन प्रवेश निषेध गरिनेछ ।
महानगरले आफ्नो भौगोलिक तथा प्रशासनिक क्षेत्रभित्र रहेका मूर्त तथा अमूर्त सम्पदाको संरक्षण, सम्वर्द्धन र प्रवर्द्धनका लागि यस्तो पहल गरेको जनाएको छ। यसबाट काठमाडौंको सांस्कृतिक पहिचान जोगिनुका साथै परम्परागत जीवनशैली, जात्रा–पर्व र संस्कार संस्कृति पुस्तान्तरण हुँदै जाने अपेक्षा गरिएको छ ।
कामपाका प्रवक्ता नवीन मानन्धर ले पछिल्लो समय भित्री सहर क्षेत्रमा बढ्दो सवारी चापका कारण व्यवस्थापनमा चुनौती थपिएको र यसले सांस्कृतिक तथा सामाजिक चलनमा नकारात्मक प्रभाव पारेकाले कार्यक्रम सञ्चालन गरिएको बताए ।
शनिबार असन क्षेत्रमा सामाजिक तथा सांस्कृतिक कार्यक्रम, रैथाने सीप तथा ज्ञानको प्रदर्शन, गायन, वादन र नृत्यलगायत गतिविधि सञ्चालन गरिनेछन् । यसबाट जीवन्त सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा टेवा पुग्ने विश्वास गरिएको छ।
कार्यक्रम अवधिमा विभिन्न स्थानबाट असनतर्फ सवारी प्रवेशमा प्रतिबन्ध लगाइएको छ । जमलतर्फ कमलाक्षी सिंहढोका, भोटाहिटी कलशढोका, वीर अस्पताल–महाबौद्ध क्षेत्र, इन्द्रचोक, मच्छिन्द्र बहाल, मांस गल्लीलगायत स्थानबाट सवारी आवागमन रोकिनेछ ।
त्यस्तै, केही आन्तरिक गल्लीहरूमा मोटरसाइकलसमेत प्रवेश निषेध गरिएको छ भने सवारी चालकहरूले वैकल्पिक मार्ग प्रयोग गर्नुपर्नेछ ।
असन आउने आगन्तुकहरूले धरहरा भूमिगत पार्किङ, जमल वहाल, दरबार हाइस्कुललगायत तोकिएका स्थानमा सवारी राखेर पैदलमार्गबाट असन प्रवेश गर्नुपर्ने व्यवस्था गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया