काठमाडौं । चिकित्सक र स्वास्थ्यकर्मीहरूको चर्को असन्तुष्टिपछि अन्ततः सरकार अस्पताल तथा स्वास्थ्य संस्थामा पनि हप्तामा दुई दिन बिदा दिने निर्णयमा पुगेको छ । चर्को दबाबपछि सरकार स्वास्थ्यकर्मीलाई पनि अन्य सरकारी कर्मचारी सरह सुविधा दिन निर्णयमा पुगेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार विज्ञप्ति नै जारी गरी शनिबार र आइतबार ओपीडी सेवा बन्द गर्ने निर्णय गरेको जनाएको छ ।
यसअघि शनिबार र आइतबार दुई दिन बिदा दिने निर्णय गरेको सरकारले आइतबारका लागि भने अस्पताल र स्वास्थ्य संस्थाहरूलाई ओपीडी सुचारु राख्न निर्देशन दिएको थियो । स्वास्थ्य मन्त्रालयको यो निर्देशनसँगै चिकित्सकहरू आक्रोशित भएका थिए । साथै केही अस्पतालले मन्त्रालयको निर्देशन अवज्ञा गर्दै आइतबार अस्पताल बन्द गरेका थिए ।
यति मात्रै नभई आइतबार स्वास्थ्य संस्था बन्द गर्न नेपाल चिकित्सक संघसहित स्वास्थ्य क्षेत्रमा क्रियाशील विभिन्न १४ वटा पेसागत संगठनले स्वास्थ्य मन्त्रालयसमक्ष दबाब बढाएका थिए ।
शुक्रबार जारी विज्ञप्तिमा भने स्वास्थ्यकर्मीको मनोबल र हितलाई ध्यानमा राख्दै बिरामीको निरन्तर हेरचाह सुनिश्चित गर्न, स्वास्थ्य संस्थामा हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरिएको उल्लेख छ । यद्यपि आकस्मिक र अन्तरंगसेवाहरू भने २४सै घण्टा सुचारु राख्न पनि भनिएको छ ।
साथै आइतबारका लागि मिति तोकिएका शल्यक्रिया तथा अन्य प्रक्रियाको व्यवस्थापन मिलाउन अस्पतालहरूलाई निर्देशन दिइएको छ । ‘बिदाका दिनहरूमा बिरामीले कुनै सास्ती भोग्न नपरोस् भनी अस्पतालहरूले सम्भव भएसम्मका सेवा प्रदान गर्न, उपलब्ध नभएका सेवाका लागि नजिकैको उपयुक्त अस्पतालमा सहज रूपमा रेफर गर्न र एम्बुलेन्सहरू हरदम तयारी अवस्थामा राख्ने व्यवस्था मिलाउन अनुरोध गरिन्छ,’ मन्त्रालयले भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया