प्रदीप ज्ञवाली भन्छन् : छिमेकीहरूसँग दुश्मनी छैन, कूटनीतिक शब्द चयनमा ध्यान दिउँ

लोकपथ
91
Shares

काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सरकारी दस्ताबेजमा प्रयोग हुने भाषामा विशेष सावधानी अपनाउनुपर्ने बताएका छन् । सामाजिक सञ्जालमार्फत  आफ्नो धारणा सार्वजनिक गर्दै उनले यस्तो बताएका हुन्  ।  

उनले सरकारले हालै सार्वजनिक गरेको ‘राष्ट्रिय प्रतिबद्धता’मा प्रयोग भएका केही कूटनीतिक शब्दावलीप्रति आपत्ति जनाएका  छन् । 

ज्ञवालीले नेपाललाई ‘बफर स्टेट’ बाट ‘भाइब्रेन्ट ब्रिज’ मा रूपान्तरण गर्ने भन्ने अभिव्यक्तिप्रति असहमति जनाउँदै यस्तो शब्दावली ऐतिहासिक र भूराजनीतिक सन्दर्भमा उपयुक्त नभएको तर्क गरेका छन् ।

उनका अनुसार नेपालले कहिल्यै पनि आफूलाई ‘बफर स्टेट’ भनेर परिभाषित नगरेको र छिमेकी मुलुकहरूबीच पनि त्यस्तो धारणा औपचारिक रूपमा प्रयोग नभएको उल्लेख गर्दै कूटनीतिक भाषामा अत्यन्त सावधानी आवश्यक हुने बताए ।

उनले लेखेका छन्, ‘राष्ट्रिय हितको रक्षा, स्वतन्त्र परराष्ट्र नीति र बाह्य सम्बन्धमा सन्तुलन मुख्य विषय हो । सम्बन्धहरू सन्दर्भअनुसार फरक हुन सक्छन्, तर त्यसलाई एउटै मापदण्डमा सीमित गर्न मिल्दैन ।’

ज्ञवालीले अन्तर्राष्ट्रिय राजनीति र कूटनीतिमा प्रयोग हुने प्रत्येक शब्दको विशेष अर्थ हुने भएकाले सरकारी दस्ताबेज तयार गर्दा गहिरो अध्ययन र संवेदनशीलता आवश्यक पर्नेमा जोड दिएका छन् ।

सरकारले ‘समदूरी’ र ‘समनिकटता’ जस्ता अवधारणासहित परराष्ट्र नीतिको व्याख्या गरेको सन्दर्भमा उनले यस्तो टिप्पणी गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?