काठमाडौं । राजस्व चुहावट नियन्त्रणका लागि सशस्त्र प्रहरी बलले पूर्वी नाका काँकडभिट्टालगायत झापाका विभिन्न भन्सार नाकामा कडाइ थालेको छ ।
सीमावर्ती क्षेत्रका बासिन्दा खाद्यवस्तु, लत्ताकपडा तथा घरायसी सामग्री खरिदका लागि भारतीय बजार जाने प्रवृत्तिका कारण स्थानीय बजार प्रभावित भएको र राज्यले राजस्व गुमाइरहेको गुनासोपछि निगरानी बढाइएको हो ।
सशस्त्र प्रहरीले मेचीनगर, भद्रपुर, गौरीगञ्ज र कचनकवल क्षेत्रका नाकामा रु एक सयभन्दा बढी मूल्यका सामान भारतबाट ल्याउँदा अनिवार्य रूपमा भन्सार महसुल बुझाउन आग्रह गरिरहेको जनाएको छ । महसुल नबुझाए कानुनअनुसार कारबाही गरिने भन्दै सर्वसाधारणलाई सचेत गराउने काम पनि भइरहेको छ ।
सशस्त्र प्रहरी बल नेपाल नं.२ गण हेडक्वार्टर झापाका सूचना अधिकारी मदन रसाइलीका अनुसार गृह मन्त्रालयको निर्देशनअनुसार सीमा क्षेत्रमा राजस्व चुहावट नियन्त्रण गर्न सचेतनामूलक कार्यक्रमसमेत सञ्चालन गरिएको छ ।
सीमानाकाबाट हुने अवैध आयात नियन्त्रण गर्न देशभरका अन्य नाकामा पनि झापामा जस्तै निगरानी कडा पारिएको सशस्त्र प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया