कांग्रेसले आजदेखि ‘एक महिने जरामा जाऊँ अभियान’ सञ्चालन गर्दै, सभापति थापाले अद्यावधिकको सुरुवात गर्ने

लोकपथ
84
Shares

काठमाडौं । नेपाली कांग्रेसले आज मंगलबारदेखि ‘एक महिने जरामा जाऊँ अभियान’ सञ्चालन गर्दै छ । यसका लागि कांग्रेसले ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधिहरू खटाइसकेको छ । स्थानीयस्तरमा प्रत्यक्ष रूपमा काम गर्न भनिएका ती केन्द्रीय प्रतिनिधिहरूलाई  पार्टीले पारित गरेको निर्देशिकाबमोजिम तोकिएको कार्यक्षेत्रमा बसेर सदस्यता विस्तार अभियानको नेतृत्व गर्न भनिएको छ । 

यति मात्र नभई यो अभियानका क्रममा ती केन्द्रीय प्रतिनिधिहरूलाई जिल्लादेखि वडासम्म विस्तारित पार्टी संरचनाहरूका गतिविधिसँगै भ्रातृ सङ्गठनहरूको अवस्थाका बारेमा प्रतिवेदन तयार पार्न पनि भनिएको छ । साथै अभियानका क्रममा कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिकसँगै पार्टीको सांगठनिक गतिविधिको विश्लेषण, जनता–युवा र पार्टी बाहिरका शुभेच्छुकहरूसँग निर्वाचनको समीक्षात्मक कार्यक्रम पनि गर्ने भएको छ ।

यो अभियानमार्फत नेपाली कांग्रेसले डिजिटल ‘कांग्रेस आईडी’ अनिवार्य गर्ने, क्रियाशील सदस्यता वडामै अद्यावधिक गर्ने, नयाँ सदस्यता वितरण गर्ने र नागरिक संवाद गर्ने लक्ष्य राखेको छ ।

साथै पुराना क्रियाशील सदस्यहरूको सदस्यता अद्यावधिकका लागि फारम भर्नुपर्ने, फोटो खिच्नुपर्ने प्रावधान लागू गर्ने तयारी गरेको छ । वैयक्तिक विवरण संकलनका लागि कांग्रेसले सदस्यता अद्यावधिकका क्रममा फारम भर्ने, फोटो खिच्ने प्रावधान गर्न लागेको हो ।

साथै कांग्रेसले नयाँ सदस्यता वितरणमा विधानको व्यवस्था प्रभावकारी ढंगले लागू गर्ने, नयाँ सदस्यता ‘डिजिटल्ली’ खोल्ने, नयाँ व्यक्ति सदस्य बन्नका लागि सजिलो प्रावधानहरू राख्ने आन्तरिक तयारी गरेको छ । अभियानका क्रममा क्रियाशील सदस्यता अध्यावधिक गर्न जाँदा ‘ओटीपी’ नम्बर अनिवार्य लिन र अनिवार्य फोटो खिचाउन पनि भनेको छ ।

सभापति गगनकुमार थापाले आज दिउँसो साढे १ बजे क्रियाशील सदस्यता अद्यावधिकको सुरुवात गर्ने भएका छन् । उनले आफूले क्रियाशील सदस्यता लिएको काठमाडौं महानगरपालिकाको ३० नम्बर वडाको इकाई कार्यालय पुगेर सदस्यता अद्यावधिक गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ । पदाधिकारी, पूर्वपदाधिकारी, केन्द्रीय कार्यसमितिका सदस्यहरूले वैशाख महिनाभित्र आफ्नो सदस्यता रहेको वडामा गएर अद्यावधिक गरिसक्नु पर्ने जनाइएको छ ।

कांग्रेस महामन्त्री प्रदीप पौडेलका अनुसार कांग्रेसले पार्टी संगठनलाई सामाजिक गतिविधिहरूमा संलग्न गराउने पनि योजना बनाएको छ । जसका लागि कांग्रेसले एक महिने अभियानका क्रममा जिल्लादेखि वडासम्मका कार्यसमितिहरूलाई वार्षिक क्यालेन्डर बनाउन लगाउने भएको छ ।

‘जलवायु जनचेतना, सामाजिक विभेद, विकृति र विसंगतिविरुद्ध सजगता, अनौपचारिक क्षेत्रका श्रमिक, विदेशबाट फर्केका युवा संवाद, लागू पदार्थविरुद्ध युवा अभियान, आमा संवाद र उद्यम अभियान, सभ्यता संस्कृति र प्रकृति संरक्षण अभियान, शिक्षा स्वास्थ्य सुधारलगायतका सामाजिक अभियान सञ्चालन गर्ने र सो को वडा तहमै क्यालेन्डर बनाउने,’ प्रतिनिधिहरूका लागि पारित गरिएको कांग्रेसको कार्यविधिमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?