‘ग्रिन पोखरा, क्लिन पोखरा’ अभियान : २ लाख २६ हजार रैथाने बिरुवा रोप्ने महाअभियान

लोकपथ
98
Shares

काठमाडौं । पोखरालाई विश्वकै सुन्दर र स्वच्छ सहरको रूपमा कायम राख्न महानगरले ‘ग्रिन पोखरा, क्लिन पोखरा’ अभियानलाई एउटा संस्कृतिको रूपमा अघि बढाएको छ ।

मेयर धनराज आचार्यले संसारभरका पर्यटकहरू आउने सहर भएकाले यसको स्वच्छता र हरियालीलाई उच्च प्राथमिकतामा राखिएको बताए ।

महानगरले खाली जमिनहरूमा पोखराकै रैथाने बिरुवाहरू लगाउनका लागि २ लाख २६ हजार वृक्षारोपण गर्ने अभियान गत वर्षबाट सुरु गरेको छ ।
यो अभियान अर्को वर्षसम्ममा पूरा गर्ने लक्ष्य राखिएको छ । यसमा निजी क्षेत्र, संघसंस्था र हरेक नागरिकलाई सहभागी गराइएको छ ।

विशेषगरी ‘आफ्नो जन्मोत्सवमा कम्तिमा २ वटा बिरुवा रोप्नुहोस्’ भन्ने भावनात्मक अभियानले नागरिकहरूमा वृक्षारोपणप्रति ठूलो उत्साह जगाएको मेयर आचार्यले बताए ।

सरसफाईको क्षेत्रमा पनि महानगरले इतिहासमै पहिलो पटक व्यवस्थित कार्ययोजना बनाएको छ । शहरका डिल, भीर, तालतलैया, मूल बाटो, शाखा बाटो र प्रशाखा बाटाहरूको सफाई र व्यवस्थापनका लागि स्पष्ट खाका तयार पारिएको छ ।

उनले भने, ‘हामीले यहाँ ग्रिन पोखरा, क्लिन पोखराको अभियान पनि सञ्चालन गरेका छौँ । संसारभरका पर्यटकहरु आउने भएकाले हामीले यो अभियान चलाएका हौँ । खाली जमिनहरुमा रैथाने बिरुवाहरु लगाउनका लागि हामीले २ लाख २६ हजार प्लानटेशन गर्ने अभियान शुरु गरेका छौँ गत वर्षबाट । यो अभियान अर्को वर्षसम्म हामी पूरा गर्छौँ । सबै निजी क्षेत्र, हरेक व्यक्ति, जन्मोत्सवमा पनि कम्तिमा २ विरुवा रोप्नुस भन्ने अभियान चलाएका छौँ । हरेकले साथ दिएपनि हाम्रो शहरलाई हरियाली पनि बनाउन सक्छौँ । सफाई गर्ने अभियान त छँदैछ । हामीले डिल, भीर, तालतलैया, मूलबाटो, शाखा बाटो सबै फाईनल गरेका छौँ । इतिहासमा पहिलोचोटी यो बनाएका छौँ ।’

तालहरूको संरक्षण र सफाईका लागि नियमित अभियानहरू सञ्चालन भइरहेका छन् । पोखरालाई केवल बाटो सफा भएको शहर मात्र नभई हरियाली र प्राकृतिक सुन्दरताले भरिपूर्ण शहर बनाउन महानगरले दीर्घकालीन सोचका साथ काम गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?