भोलिदेखि मौसमी गतिविधि बढ्ने, मौसममा सुधार आउने संकेत

लोकपथ
0
Shares

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले बिहीबारदेखि देशभर मौसमी गतिविधि बढ्ने जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाले बुधबार अपराह्न ४ बजे विशेष मौसम बुलेटिन जारी गर्दै वायुमण्डलमा मौसमी गतिविधि क्रमशः बढ्दै जाने र देशका केही स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको जानकारी दिएको हो ।

महाशाखाका अनुसार केही स्थानमा वर्षा हुन सक्ने सम्भावनासँगै हाल वायुमण्डलमा रहेको प्रदूषणको अवस्थामा क्रमिक रूपमा सुधार आउने अनुमान गरिएको छ।

महाशाखाले नेपालको उपल्लो वायुमण्डलमा उच्च चापीय मौसम प्रणाली स्थिर रहनुका साथै पश्चिमी न्यून चापीय प्रणाली सक्रिय हुन नसकेको र वायुमण्डलको तल्लो तहमा पनि न्यून चापीय गतिविधि पर्याप्त रूपमा विकास हुन नसक्दा पर्याप्त वर्षा हुन सकेको छैन । त्यसका कारण प्रदूषण वायुमण्डलको तल्लो तहमै सञ्चित हुँदा पछिल्ला केही दिनदेखि देशका धेरै भू-भागमा तुवाँलो देखिएको जनाएको छ।

तुवाँलोका कारण स्वास्थ्यमा पर्न सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ । साथै मौसम पूर्वानुमान महाशाखाले देशभरको मौसम प्रणालीको निरन्तर अनुगमन गरिरहेको र दैनिक जारी हुने तीन दिने मौसम पूर्वानुमान बुलेटिनमार्फत नियमित अद्यावधिक गरिने जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?