काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार बनेका केही प्रमुख नेताहरूले आफैँलाई मतदान गर्न नपाउने भएका छन् । आफू उम्मेदवार भएको क्षेत्रको मतदाता सूचीमा नाम नभएका कारण उनीहरू आफैलाई मतदान गर्नबाट वञ्चित भएका हुन् ।
प्रतिनिधिसभा निर्वाचनमा मुलुकको जुनसुकै क्षेत्रबाट उम्मेदवार हुन पाउने कानुनी प्रावधान छ । सोही सुविधा उपभोग गर्दै नेताहरू आफ्नो मतदाता नामावली नभएका क्षेत्रबाट समेत उम्मेदवार बनेका हुन् ।
यो प्रावधानका कारण उम्मेदवार बनेका उनीहरूले आफूलाई मतदान गर्न नपाएपनि सम्बन्धित क्षेत्रबाट पार्टीका प्रत्यक्ष र समानुपातिक उम्मेदवारलाई मतदान गर्नेछन् ।
उम्मेदवार भएर पनि आफूलाई मत हाल्न नपाउने सूचीमा मुख्य चारै दलका अध्यक्ष/सभापति पनि छन् ।
विघटित प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका सभापति गगनकुमार थापा, दोस्रो ठूलो दल एमालेका अध्यक्ष केपी शर्मा ओली, तेस्रो ठूलो दल नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र (हाल नेपाली कम्युनिस्ट पार्टीका संयोजक) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पनि आफूलाई भोट हाल्न पाउँदैनन् । यही सूचीमा छन् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव, नेकपाका नेता नारायणकाजी श्रेष्ठ, राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता रवीन्द्र मिश्र, रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन), रास्वपाका उपसभापति स्वर्णिम वाग्ले र नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेल ।
काठमाडौं–४ बाट तीन तीन पटक प्रत्यक्ष निर्वाचन जितेका कांग्रेस सभापति गगनकुमार थापाले यो पटक आफैलाई मत खसाल्न नपाउनुको कारण हो–उनी यो पटक मधेस झरेका छन् । यो पटक उनले सर्लाही–४ बाट उम्मेदवारी दिएका छन् । उनको मतदाता सूचीमा काठमाडौं–४ मा उनको नाम छ । मैतीदेवीस्थित मन्दिर छेउमा रहेको केन्द्रमा उनले मतदान गर्नेछन् । उनी काठमाडौंमा मतदान गरी आफ्नो निर्वाचन क्षेत्र सर्लाही जाने कार्यक्रम छ ।
कांग्रेस सभापति गगनकुमार थापाले उम्मेदवार भएर पनि आफूलाई पहिलोपटक मतदान गर्न नपाएको अवस्था रहेकोमा एमाले अध्यक्ष ओली, नेकपा अध्यक्ष प्रचण्ड र रास्वपा अध्यक्ष रवि लामिछानेलाई यो कुनै नौलो विषय होइन । उनीहरू आफूहरूलाई मत नहालेर नै विजयी बन्दै आएका छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओली विगतमा झैँ यो पटक पनि झापा–५ बाट उम्मेदवार छन् । तर उनको मतदाता नामावली भने सूर्यविनायक नगरपालिकाअन्तर्गतको बालकोटमा छ । भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ मा पर्ने बालकोटस्थित महेन्द्र शान्ति विद्यालयको केन्द्रबाट उनले मतदान गर्दै आएका छन् । यसपटक पनि उनी भक्तपुर–२ का आफ्ना उम्मेदवारलाई र समानुपातिकमा पार्टीलाई मतदान गरी झापा जाने कार्यक्रम छ ।
हरेक निर्वाचनमा फरक फरक क्षेत्र रोज्दै आएका नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्डले पनि आफूलाई मत नखसालेको वर्षाैं भइसक्यो । यसअघि गोरखा–२ बाट उम्मेदवार बनेका प्रचण्ड अहिले रुकुम पूर्वमा पुगेका छन् । उनको मतदाता नामावली भने चितवनमा छ । दाहालले चितवन–३ को भरतपुर–१४ स्थित नेपाल प्रहरी स्कुल शान्तिपुर मतदान केन्द्रबाट मतदान गर्नेछन् । चितवन–३ मा नेकपाका उम्मेदवारलाई मतदान गरी उनी त्यही दिन रुकुमपूर्व जाने कार्यक्रम छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने यो पटक पनि चितवन–२ बाट उठेका छन् । उनी प्रतिनिधिसभा निर्वाचनमा लडेको यो तेस्रो पटक हो । उपनिर्वाचनसहित तेस्रोपटक उम्मेदवार बनेका उनी पनि त्यस्ता पात्र हुन्, जसले आफैलाई मत खसाल्न पाएका छैनन् ।
मतदाता सूचीमा उनको नाम काठमाडौं–३ मा छ र उनले काठमाडौं उपत्यका खानेपानी लिमिटेडको महाँकालचौरमा मतदान गर्दै आएका छन् ।
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव सप्तरी–३ बाट उठेको भएपनि उनी मोरङको विराटनगर महानगरपालिका–१४ स्थित डिग्री क्याम्पसका मतदाता हुन् । त्यसैले उनले पनि आफूलाई मत खसाल्न पाउँदैनन् । उनले पनि आफूलाई मत नखसालेको वर्षाैं भइसकेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह पहिलोपटक प्रतिनिधिसभा निर्वाचनमा होमिएका व्यक्ति हुन् । काठमाडौं महानगरपालिकाको प्रमुखबाट राजीनामा दिएर प्रतिनिधिसभा निर्वाचनका लागि झापा–५ रोजेका उनले पनि आफूलाई मत दिन पाउँदैनन् । उनको मतदाता नामावली काठमाडौंमै भएकाले उनले सिनामंगलस्थित अन्नपूर्ण इंग्लिस स्कुलमा रहेको मतदान केन्द्रबाट मतदान गर्नेछन् । त्यसपछि उनी उम्मेदवार भएको क्षेत्र झापा–५ जाने जाने कार्यक्रम छ ।
यस्तै, नेकपाका नेता नारायणकाजी श्रेष्ठ पनि निर्वाचनपिच्छे फरक फरक क्षेत्र रोज्ने उम्मेदवारमा गनिन्छन् । कहिले गोरखा, कहिले मकवानपुरबाट निर्वाचन लडेका उनी यो पटक सर्लाही–३ पुगेका छन् । राष्ट्रिय सभा सदस्यबाट राजीनामा दिएर सर्लाही–३ को उम्मेदवार बनेका श्रेष्ठ गोरखा सिरानचोक गाउँपालिका जौबारीका मतदाता हुन् ।
काठमाडौं–५ बाट दोहोरिएर उम्मेदवार भएका कांग्रेस महामन्त्री प्रदीप पौडेल तनहुँ–२ ढोरफेदीका मतदाता भएकाले उनले पनि आफूलाई मत हाल्न पाउने छैनन् ।
यस्तै, तनहुँ–१ बाट दोहोरिएर उम्मेदवार बनेका रास्वपा उपसभापति स्वर्णिम वाग्लेले पनि आफूलाई मतदान गर्न पाउँदैनन् । उनले काठमाडौंको टोखास्थित चण्डेश्वर माध्यमिक विद्यालयमा मतदान गर्दै आएका छन् ।
त्यस्तै, काठमाडौं–१ बाट उम्मेदवारी दिएका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र पनि आफूलाई मत दिनबाट वञ्चित छन् । यो क्षेत्रबाट उनी तीन पटक उम्मेदवार भइसकेका छन् । अघिल्ला दुई निर्वाचनमा पराजित उनी ललितपुर–१८, भैंसेपाटीका मतदाता हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया