काठमाडौं । निर्वाचनको मौन अवधि सुरु भएसँगै धनुषामा रहेका भारतीय सीमा नाकाहरु सिल गरिएको छ ।
प्रहरी नायब उपरीक्षक गणेशबहादुर बमले निर्वाचनमा अवाञ्छित गतिविधि हुन नदिने सुरक्षा योजनाअनुसार धनुषा जिल्लाका जटहीलगायतका सीमा नाका बन्द गरिएको जानकारी दिएका हुन् ।
गत रातिबाट नाका बन्द गरिएको सो नाका फागुन २१ गते निर्वाचनको मतदान कार्य सम्पन्न भएपछि मात्रै संचालनमा आउनेछ ।
प्रहरी नायब उपरीक्षक बमले सीमा नाकाहरुबाट निर्वाचनमा हुने सुरक्षा चुनौतिलाई ध्यानमा राखेर सवारी साधनलगायतका चेकजाँचमा पनि कठाई गरिएको बताए ।
उनले भने, ‘प्रतिनिधि सभा निर्वाचनका लागि धनुषा जिल्लाको भारतीय सीमा क्षेत्रसँग जोडिएको सीमाहरु पूर्ण रुपमा १८ गते हिजो राति १२ बजेदेखि २१ गते रातिसम्म नाका सिल गरिएको अवस्था छ । र अहिले नाकाहरुमा चेकजाँच गरिरहेको अवस्था पनि छ । र कुनैपनि सवारी साधन र मानिसहरुलाई आवातजावत गर्न दिइएको छैन । २१ गते हुने चुनावको सन्दर्भमा एकीकृत सुरक्षा योजना तर्जुमा गरेर कार्यान्वयन भइरहेको छ । सोही अनुसारको जनशक्तिहरु नेपाल प्रहरी, सशष्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागलगायत सुरक्षा निकायहरुबाट जनशक्ति परिचालन भईसकेको छ ।’
नेपाल–भारतबिचको सीमा नाकामा दुवै देशका सुरक्षा अधिकारीहरुको बैठकले निर्वाचनमा केन्द्रित सुरक्षा योजना बनाएको र सोही अनुसार सो नाका बन्द गर्ने काम गरिएको हो ।
त्यसैगरी एकीकृत सुरक्षा योजनाअनुसार नेपाल प्रहरी, सशष्त्र प्रहरी बल, नेपाली सेना र राष्टित«य अनुसन्धान विभागका जनशक्तिहरु निर्वाचनका लागि परिचालन गरिएको प्रहरी नायव उपरीक्षक बमले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया