दुर्गा प्रसाईँको रिट न्यायाधीश रेग्मीको इजलासमा

लोकपथ
140
Shares

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँको बन्दी प्रत्यक्षीकरणको रिट सुनुवाइका लागि पेसी तोकिएको छ । मंगलबार सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको इजलासमा प्रसाईँको रिट सुनुवाइका लागि पेसीमा चढेको हो । 

राजसंस्था पुनस्र्थापनाको माग गर्दै विभिन्न किसिमका आन्दोलन गर्दै आएका प्रसाईँलाई केही दिनअघि मात्रै प्रहरीले पक्राउ गरेको थियो । भक्तपुरस्थित निवासबाटै प्रहरीले प्रसाईँलाई पक्राउ गरी सार्वजनिक शान्ति विरुद्धको कसुरमा अनुसन्धान गरिरहेको छ । 

गत आइतबार मात्रै व्यवसायी प्रसाईँलाई जिल्ला प्रशासन कार्यालय भक्तपुरले ५ दिन हिरासतमा राखी अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो । त्यसको विरुद्ध प्रसाईँ बन्दी प्रत्यक्षीकरणको रिट लिएर सर्वोच्च अदालत पुगेका थिए । प्रसाईँको तर्फबाट अधिवक्ता सुरेश बोहराले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट दर्ता गराएका हुन् । 

यसअघि पनि यस्तै कसुरमा पटक पटक पक्राउ परेका प्रसाईँलाई बन्दी प्रत्यक्षीकरणको रिट मार्फत नै सर्वोच्च अदालतले थुनामुक्त गराएको थियो । त्यति बेला पनि प्रहरीले प्रसाईँमाथि निर्वाचन बिथोल्ने गतिविधिमा संलग्न भएको भन्दै पक्राउ गरेको थियो । तर उक्त कसुरमा अनुसन्धान चल्दै गर्दा प्रसाईँको तर्फबाट दायर बन्दी प्रत्यक्षीकरणको रिटमा सर्वोच्च अदालतका न्यायाधीशद्वय मनोजकुमार शर्मा र मेघराज पोखरेलको संयुक्त इजलासले प्रसाईँलाई थुनामुक्त गर्न आदेश दिएको थियो । माघ १३ गते सर्वोच्चको आदेशसँगै थुनामुक्त भएका प्रसाईँलाई त्यसको ३ दिनपछि पुनः पक्राउ परेका थिए । 

प्रहरीले यति बेला प्रसाईँलाई सार्वजनिक शान्तिमा खलल पुराएको आारेपमा पक्राउ गरेको हो । प्रसाईँ समूहले मंगलबार मात्रै महााजगञ्ज क्षेत्रमा दुई वटा कारमा समेत आगजनी गरेको आरोप छ । प्रसाईँ समूह निर्वाचन बिथोल्न लागिपरेको भन्दै उनलाई होल्ड गर्न प्रहरीले पक्राउ गरेको दाबी गरिएको छ । निर्वाचनको अवधिभर प्रसाईँलाई थुनामै राख्न सकिए निर्वाचन बिथोल्न उनले केही गर्न नसक्ने भन्दै सरकारले उनलाई थुनामै राख्ने तयारी गरेको हो ।

यससँगै प्रसाईँ हालसम्म १२ पटक प्रहरी हिरासत र थुनामा पुगिसकेका छन् । प्रसाईँमाथि चेक बाउन्सदेखि सार्वजनिक अपराध र साइबर अपराधसमेतको मुद्दा लगाइएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?