कांग्रेस र एमाले रक्षात्मक हुँदा नेकपाप्रति जनविश्वास बढ्यो : प्रचण्ड

लोकपथ
70
Shares

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपाप्रति जनविश्वास बढ्दै गएको बताएका छन् ।

शुक्रबार नुवाकोट–काठमाडौं सम्पर्क समन्वय समितिले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै उनले नेपाली कांग्रेस र नेकपा एमालेलगायतका पुराना दलहरू रक्षात्मक अवस्थामा पुगेको टिप्पणी गरे ख।

उनका अनुसार अन्य दलहरू बचाउको अवस्थामा रहे पनि नेकपा आक्रामक रूपमा चुनावी मैदानमा अघि बढिरहेको छ ।

दाहालले नेकपाले अघि सारेका नीति, योजना र कार्यक्रमले मात्रै मुलुकको स्वाधीनताको रक्षा र जनहितको पक्षमा काम गर्न सक्ने जिकिर गरे । उनले जनताको भरोसा दिनप्रतिदिन बढ्दै गएको दाबी गर्दै आगामी पाँच दिन घरघरमा पुगेर मतदातालाई सम्झाउन सके नेकपा पहिलो राजनीतिक शक्ति बन्ने बताए ।

उनले भने, ‘नेपाली कम्युनिष्ट पार्टी महाअभियानका रूपमा निर्वाचनमा अघि बढेको छ । अन्य पुराना पार्टीहरू रक्षात्मक छन्, हामी आक्रामक ढंगले अघि बढेका छौँ । जनतामा हाम्रो नीति, योजना र प्रतिबद्धताप्रति विश्वास बढिरहेको छ। अब आउने पाँच दिन युद्धस्तरमा खटेर घरघरमा पुग्न सके नेकपाले देशको नेतृत्व गर्नेछ ।’

दाहालले आगामी निर्वाचनमा नेकपाले कुनै पनि दलसँग तालमेल नगर्ने स्पष्ट पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?