ब्याटलग्राउन्ड कपिलवस्तु–३ : सांसद बन्न दल फेरेर उम्मेदवार, त्रिपक्षीय प्रतिस्पर्धा

लोकपथ
56
Shares

कपिलवस्तु । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर ३ अहिले राजनीतिक रूपमा निकै चासोको केन्द्र बनेको छ । विशेषगरी पुराना दिग्गज नेताहरूबीचको प्रतिस्पर्धा मात्र नभई दल परिवर्तन गरेर उम्मेदवार बनेकाले पनि यहाँको निर्वाचनलाई चासोपूर्वक हेरिएको छ । त्यसमा पनि नयाँ शक्ति तथा साना दलहरूको सक्रिय उपस्थिति त छँदैछ । यहाँ यसपटकको चुनावी समीकरण विगतभन्दा केही फरक पनि देखिन्छ ।

यहाँ २०७९ सालको निर्वाचनमा एमालेका मंगलप्रसाद गुप्ताले २२ हजार ६ सय १९ मत प्राप्त गर्दै विजय हासिल गरेका थिए । उनका निकटतम प्रतिद्वन्द्वी थिए नेपाली कांग्रेसका अभिषेकप्रताप शाह । शाहले त्यसबेला १८ हजार ९ सय ८३ मत प्राप्त गरेका थिए ।

निर्वाचन २०७९ : कपिलवस्तु–३ (बार + पाई)

🗳️ प्रतिनिधिसभा निर्वाचन २०७९ कपिलवस्तु–३ (प्रत्यक्ष निर्वाचन)

कुल मतदाता १,१५,५४३
सदर मत ७२,७७४
मतदान प्रतिशत ६३.०%
★ बारमाथि मत संख्या / पाईमा प्रतिशत प्रत्यक्ष — होभर गर्दा प्रतिशत मात्र

अहिले नेपाली कांग्रेसले उनै अभिषेकप्रताप शाहलाई अघि सार्दा एमालेले वीरेन्द्रकुमार कनौडियालाई उठाएको छ । एमालेबाट उम्मेदवार बनेका कनौडियाले यसअघि नेपाली कांग्रेसबाट सक्रिय राजनीति गर्दै आएका थिए । लुम्बिनी प्रदेशसभामा निर्वाचित समेत भएका उनी कांग्रेस कपिलवस्तु क्षेत्र नम्बर ३ ले एकल सिफारिस गरेको अवस्थामा पनि अन्तिम समयमा एमाले प्रवेश गरेका थिए । 

उता, यस क्षेत्रको अर्को महत्वपूर्ण पक्ष भनेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार हुन् । रास्वपाबाट उम्मेदवार बनेका प्रकाश रजौरिया २०७९ सालको निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट उम्मेदवार बनेर राम्रै मत ल्याएका व्यक्ति हुन् । रजौरियाले त्यसबेला १४ हजार ३० मत ल्याएर उल्लेखनीय प्रदर्शन गरेका थिए । अहिले उनी रास्वपाबाट मैदानमा उत्रिएका कारण विगतको मत आधार कता मोडिने भन्ने प्रश्न महत्वपूर्ण बनेको छ । राजनीतिक विश्लेषकहरूका अनुसार यस्तो दल परिवर्तनले परम्परागत मत आधारमा असर पार्न सक्ने सम्भावना रहन्छ । यही कारणले राप्रपा पृष्ठभूमि भएका रजौरियाको उम्मेदवारीले चुनावी समीकरणलाई नयाँ दिशा दिन सक्ने अनुमान गरिएको छ ।

२०७९ को निर्वाचनमा यो क्षेत्रमा रास्वपाको उपस्थित नगण्य भएपनि राप्रपा भने समानुपातिकतर्फ दोस्रो भएको थियो । राजनीतिक विश्लेषकहरूका अनुसार राप्रपाको मत आधार र रास्वपाको नयाँ आकर्षण एकसाथ जोडिएमा रजौरिया परम्परागत ठूला दलका उम्मेदवारलाई कडा चुनौती दिन सक्ने सम्भावना छ । यद्यपि, प्रतिस्पर्धा एमालेका कनौडिया र कांग्रेसका शाहबीच नै हुने ठानिएको छ । यी दुई उम्मेदवार यसअघि पनि पटक–पटक चुनावी मैदानमा भिड्दै आएका छन् । यसैले पनि मतदातामाझ उनीहरू  परिचित अनुहारका रूपमा चिनिन्छन् । कांग्रेस र एमालेबीचको परम्परागत प्रतिस्पर्धाले यस क्षेत्रको राजनीतिक इतिहास निर्माण गर्दै आएको छ ।

एमालेबाट उम्मेदवार बनेका कनौडिया चिनी उद्योगसँग जोडिएका व्यवसायी पनि हुन् । विगतमा उखु किसानको भुक्तानी विवादसँग जोडिएको आरोप पनि उनीमाथि लाग्दै आएको छ, जसले चुनावी अभियानमा विपक्षीले मुद्दा बनाउन सक्ने संकेत देखिन्छ ।

तीन निर्वाचन क्षेत्र रहेको कपिलवस्तुको क्षेत्र नम्बर ३ मा कृष्णनगर नगरपालिका (१–१२), महाराजगन्ज नगरपालिका (५, ६, ७), शिवराज नगरपालिका (१–११) र विजयनगर गाउँपालिका (१–७) का वडा पर्छन् । कुल १ लाख १८ हजार ४ सय ४ मतदाता रहेका छन् । जसमा ६३ हजार ९ सय ३६ पुरुष र ५४ हजार ४ सय ६८ महिला छन् । 

७२ मतदानस्थल र १ सय ४८ मतदान केन्द्र रहेको यो क्षेत्रबाट प्रतिनिधिसभा सदस्यका लागि ३६ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्, जसले प्रतिस्पर्धालाई थप जटिल र बहुआयामिक बनाएको छ । धेरै उम्मेदवार दर्ता भएको क्षेत्रका रूपमा पनि कपिलवस्तु–३ विशेष रूपमा चर्चामा आएको छ ।

साना दल र स्वतन्त्र उम्मेदवारको प्रभाव

कपिलवस्तु–३ मा साना दल र स्वतन्त्र उम्मेदवारको संख्या पनि उल्लेखनीय छ । जनता प्रगतिशील पार्टी, जनमत पार्टीलगायत विभिन्न दलहरूबाट उम्मेदवारी दर्ता भएको छ । विगतको निर्वाचनमा जनता प्रगतिशील पार्टीका ईश्वरदयाल मिश्राले १२ हजार ५ सय ५७ मत ल्याएका थिए भने जनमत पार्टीका नरसिंह चौधरीले २ हजार २ सय ४५ मत प्राप्त गरेका थिए ।

यसपटक पनि साना दलहरूको मत विभाजनले ठूला दलको समीकरणमा असर पार्ने सम्भावना छ । विशेष गरी बहुकोणीय प्रतिस्पर्धा हुँदा मत विभाजनले अन्तिम परिणाम अप्रत्याशित हुन सक्ने राजनीतिक विश्लेषकहरूको भनाइ छ ।

समानुपातिक मत परिणामले देखाएको संकेत

समानुपातिक निर्वाचन २०७९ : कपिलवस्तु–३ (वैकल्पिक दृश्य)

🗳️ प्रतिनिधिसभा निर्वाचन, २०७९ समानुपातिक (वैकल्पिक दृश्य) • कपिलवस्तु–३

कुल मतदाता १,१५,५४३
सदर मत ७३,६५३
मतदान प्रतिशत ६३.७%
★ बारमाथि मत संख्या र प्रतिशत; पाईमा प्रतिशत मात्र — होभर गर्दा थप विवरण

गत निर्वाचनको समानुपातिक मत परिणामले पनि यस क्षेत्रको राजनीतिक प्रवृत्तिबारे महत्वपूर्ण संकेत दिएको छ । प्रत्यक्षतर्फ एमाले पहिलो र कांग्रेस दोस्रो भए पनि समानुपातिक मततर्फ राप्रपाको मत बलियो देखिएको थियो । २०७९ सालको निर्वाचनमा एमाले १६ हजार २ सय ७२ मतसहित पहिलो, राप्रपा १० हजार ७ सय ६० मतसहित दोस्रो र नेपाली कांग्रेस ९ हजार ३ सय ९४ मतसहित तेस्रो बनेको थियो । यसैगरी, जनमत पार्टी ८ हजार ८ सय १९ मतसहित चौथो र जनता प्रगतिशील पार्टी नेपाल ८ हजार ५ सय १५ मतसहित पाँचौं बनेको थियो । 

अन्य उम्मेदवार र बहुदलीय प्रतिस्पर्धा

यस क्षेत्रमा अन्य राजनीतिक शक्तिहरू पनि सक्रिय छन् । तत्कालीन माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) लगायतको गठबन्धनबाट बनेको नेकपाबाट एहसान अहमद खाँ चुनावी मैदानमा छन् । त्यसैगरी राप्रपाबाट प्रेमशंकर शुक्ल पनि प्रतिस्पर्धामा छन् । धेरै दलको उपस्थितिले मतदातालाई विकल्प बढाएको छ भने परिणामलाई अझ अनिश्चित बनाएको छ ।

दल अदलबदलले बदलिएको चुनावी माहौल

यस क्षेत्रको सबैभन्दा रोचक पक्ष भनेको नेताहरूको दल अदलबदल हो । कांग्रेसबाट एमाले प्रवेश, राप्रपाबाट रास्वपा प्रवेश जस्ता घटनाले मतदातामा नयाँ बहस सुरु भएको छ । परम्परागत राजनीतिक निष्ठा र नयाँ राजनीतिक विकल्पबीचको संघर्षले चुनावी वातावरणलाई थप रोमाञ्चक बनाएको छ ।

स्थानीय मतदाताहरूका अनुसार विकास, रोजगारी, कृषि र पूर्वाधारका मुद्दा चुनावी एजेन्डामा प्रमुख रूपमा उठिरहेका छन् । विशेषगरी उखु किसानका समस्या, सडक विस्तार र आर्थिक गतिविधिसम्बन्धी विषयहरू मतदाताको प्राथमिकतामा परेको देखिन्छ ।

मुख्य दलका उम्मेद्वारहरुको को कस्ता ?

अभिषेकप्रताप शाह (नेपाली कांग्रेस) : ४३ वर्षीय अभिषेकप्रताप शाह कृष्णनगर–२ निवासी हुन् । उनी २०७९ मा १८ हजार ९ सय ८३ मतसहित दोस्रो स्थानमा रहे । उनको परिवार २०१५ सालअघिदेखि कांग्रेससँग जोडिएको छ । उनका हजुरबुबा शिवप्रताप शाह २०१५ सालमा मन्त्री बनेका थिए । २०६३ मा उनलाई तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले प्रतिनिधिसभा सदस्यमा मनोनीत गरेका थिए । २०६४ र २०७० मा संविधानसभा सदस्य निर्वाचित भएका शाह २५ वर्ष ३ महिनाको उमेरमा मुलुककै कान्छो संविधानसभा सदस्य बनेका थिए । उनी युवालाई रोजगारी र उद्यमशीलतामा जोड दिने एजेन्डासहित मैदानमा छन् । उनको चुनौती भनेको २०७९ को मतलाई जितमा रूपान्तरण गर्नु रहेको छ ।

वीरेन्द्रकुमार कनौडिया (एमाले) : ६६ वर्षीय वीरेन्द्रकुमार कनौडिया पनि कृष्णनगर–२ निवासी हुन् । विद्यार्थी राजनीतिबाट यात्रा सुरु गरेका उनी लामो समय कांग्रेसमा सक्रिय रहे । २०५८ सालमा शेरबहादुर देउवा नेतृत्वको सरकारमा जलस्रोत राज्यमन्त्री बने । २०७४ मा लुम्बिनी प्रदेशसभा (कपिलवस्तु–३ (२)) बाट निर्वाचित भए । उनी गत माघ ३ गते एमाले प्रवेश गरेर यसपटक एमाले उम्मेदवार बनेका छन् । युवालाई स्वरोजगार र आत्मनिर्भर बनाउने कार्यक्रम आफ्नो प्राथमिकता भएको बताउँछन् ।

एहसान अहमद खाँ (नेकपा) : ६२ वर्षीय एहसान अहमद खाँ कृष्णनगर–२ निवासी हुन् । २०७४ मा बहुजन शक्तिबाट चुनाव लडेका उनी २०७६ मा माओवादी केन्द्रमा प्रवेश गरे । अहिले माओवादी केन्द्र र एकीकृत समाजवादी मिलेर बनेको नेकपाबाट उम्मेदवार छन् । उनको एजेन्डा गुणस्तरीय शिक्षा, प्राविधिक क्याम्पस स्थापना र कृषि आधुनिकीकरण रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?