रौतहट र वीरगञ्जको झडपपछि सुरक्षा व्यवस्था थप मजबुत पारिँदै

लोकपथ
35
Shares

काठमाडौं । आगामी निर्वाचनको तयारीका क्रममा देशभर देखिएका अशान्तिका घटनाहरूको विश्लेषण गर्न निर्वाचन आयोगमा उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठक जारी छ ।

बैठकको अध्यक्षतामा आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारी रहेका छन् । बैठकमा गृह सचिव र चारवटै सुरक्षा निकायका प्रमुखहरूले पनि भाग लिएका छन् ।

बैठकले देशभरको सुरक्षा अवस्था समीक्षा गर्दै संवेदनशील क्षेत्रहरूमा थप सुरक्षा व्यवस्था मिलाउने योजना बनाउने तयारी गरेको छ। विशेष गरी मधेस प्रदेशका रौतहट र वीरगञ्जमा पछिल्ला दिनमा भएका झगडा र झडपका घटनालाई आयोगले गम्भीरतापूर्वक लिएको छ ।

रौतहटमा विभिन्न समूहबीचको विवाद हिंसात्मक बनेको र वीरगञ्जमा ढुङ्गामुढा तथा प्रदर्शनका कारण स्थिति तनावपूर्ण भएको भन्दै आयोगले नयाँ सुरक्षा चुनौतीको रूपमा मूल्याङ्कन गरेको छ ।

सुरक्षा रणनीतिमा फेरबदल गर्दै आयोगले संवेदनशील क्षेत्रहरूलाई ‘अति संवेदनशील’ सूचीमा राखी अतिरिक्त सुरक्षा बल परिचालन गर्ने तयारी गरेको छ । स्थानीय विवाद नियन्त्रण गर्न र निर्वाचन बिथोल्ने तत्वहरूलाई कानुनी दायरामा ल्याउन सुरक्षा निकायलाई उच्च सतर्कतामा राख्ने निर्देशन दिइनेछ ।

साथै, सीमावर्ती र झडप भएका जिल्लाहरूमा सुरक्षा फौजको उपस्थिति बढाउने र सामाजिक सञ्जालमा फैलिने गलत सूचनामा निगरानी राख्ने योजना पनि बैठकमा तय हुने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?