काठमाडौं । सशस्त्र प्रहरी बल नेपाल (एपीएफ) ले युनाइटेड नेसन्स मिसन इन साउथ सुडान (यूएन मिसन) मा एफपीयू कमान्डरका रूपमा अब सशस्त्र प्रहरी उपरीक्षक (एसपी) पठाउने भएको छ । सशस्त्र प्रहरी बलले यसअघि सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पठाउँदै आएकोमा १३ औँ टोलीको कमान्डरका रूपमा भने एसपीलाई पठाउन लागेको हो ।
स्रोतका अनुसार, १३ औँ टोलीको नेतृत्व एसपी हर्कराज पन्तले गर्ने भएका छन् । दैलेख घर भएका पन्त सिसं २ सशस्त्र प्रहरी निरीक्षक बेसिकका हुन् । सिसं २ सशस्त्र प्रहरी निरीक्षक बेसिकका अधिकृतहरू अहिले एसपीदेखि नायव महानिरीक्षक (डीआईजी) सम्म छन् ।
स्रोतका अनुसार, ११ औँ डफ्फाको टोलीका एफपीयू कमान्डर एसएसपी रवीन्द्रराज कर्णजीतमाथि आफ्नो कार्यकाल सकेर स्वदेश फर्किनुभन्दा केही दिनअघि यूएनमै कार्यरत एक नर्वेजियन महिला कर्मचारीमाथि अभद्र व्यवहार गरेको आरोप लागेको थियो । ती नर्वेजियन महिला कर्मचारीमाथि अभद्र व्यवहार गरेको आरोप लागेका एसएसपी कर्णजीतलाई पाँच वर्ष बढुवा रोक्का गरिसकिएको छ ।
उच्चतहका अधिकृत नै यस्तो गम्भीर घटनामा मुछिएपछि सशस्त्र मुख्यालयले अबदेखि एक तहमुनिको अधिकृतलाई कमान्डरका रूपमा पठाउन लागेको हो ।
सो घटनापछि यूएनले एफपीयूमा जानेको संख्या पनि घटाउँदै लगेको छ । तीन साताअघि पनि युनाइटेड नेसन्स मिसन इन साउथ सुडान (यूएन मिसन) मा रहेका २० जनालाई फिर्ता पठाएको थियो
त्यसबेला एसएसपी कर्णजीतमाथि त्यहाँको एक रेस्टुरेन्ट (टुकुल) मा ती नर्वेजियन महिला कर्मचारीको गोप्य अंगमा स्पर्श गरेको आरोप थियो । कर्णजीतको व्यवहारबाट रिसाएकी ती महिलाले त्यतिखेर नै त्यहाँ हंगामा मच्चाएकी थिइन् । तर कर्णजीतले रोईकराई गरेर उजुरी गर्नबाट रोकेका थिए ।
तर ती नर्वेजियन महिलाले पछि यूएन हेडक्वाटरमा उजुरी दिएपछि मात्रै एसएसपी कर्णजीतको अभद्र व्यवहारबारेको जानकारी सशस्त्र प्रहरी मुख्यालयले पाएको थियो । यूएन हेडक्वाटरले सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललाई घटनाकाबारेमा मेल गरेपछि मात्रै सशस्त्र मुख्यालयले यो बारेमा थाहा पाएको थियो । सशस्त्र मुख्यालयलाई यूएन मुख्यालयले दुई पटक पत्र पठाएको थियो । पहिलो पत्रको बेवास्ता गरेपछि यूएन मुख्यालयले दोस्रो पटक चुनौतीपूर्ण भाषा उल्लेख गरेर दोस्रो पत्र पठाएको थियो । त्यसपछि मात्रै सशस्त्र मुख्यालयले यो विषयमा छानबिन थालेको थियो । छानबिनका क्रममा सशस्त्र मुख्यालयले उनीसँगै फर्किएको टोलीसँगसमेत सोधपुछ गरेको थियो ।
छानबिनका क्रममा एसएसपी कर्णजीतले ती महिलामाथि अभद्र व्यवहार खुलेको पुष्टि भएपछि सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले उनको पाँच वर्ष बढुवा रोक्का गरेका हुन् ।
एसएसपी कर्णजीतको टोलीलाई सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक जहरसिंह बुढाको टोलीले ‘रिप्लेस’ गरेको थियो । बुढाको टोली गत बैशाख २३ गते राति इथियोपियन एयरलाइन्सद्वारा त्यसतर्फ प्रस्थान गरेको थियो । १८० जनाको सो टोलीलाई बैशाख २१ गते सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले बिदाइ गरेको थियो । सशस्त्रको एफपीयू मिसन साउन सुडानको जुबामा खटिँदै आएको छ
अब एसपी पन्तको टोली आगामी बैशाख अन्तिम साता त्यसतर्फ जाने छ । त्यहाँ जानेहरूका लागि अहिले यूएन तालिम केन्द्र ककनीमा तीन महिने तालिम चलिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया