काठमाडौं । कांग्रेसको संस्थापनले महामन्त्रीहरु गगन थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री फरमुल्लाह मन्सुरमाथिको कारबाहीबारे विभिन्न कोणबाट टिकाटिप्पणी भइरहेको छ ।
आज बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले तीन पदाधिकारीमाथि ५ वर्षसम्मका लागि पार्टी सदस्य नरहने गरी निष्काशन गरेको थियो ।
महामन्त्रीबाट पार्टीको निष्काशनमा परेपछि थापाले भृकुटीमण्डपमा नेता कार्यकर्ताहरुलाई सम्बोधन गर्दै नआत्तिन आग्रह गरे । साथै पार्टीको चिह्न चारतारा र चुनाव चिह्न रुख आफूहरुको रहने दाबी गर्दै सबैलाई समेटेर लैजाने विश्वास समेत व्यक्त गरे ।
यतिबेला विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयनको तयारी भइरहेको छ । सो सन्दर्भमा समेत थापाले अहिले सबैलाई समेटेर लैजान नसकेको भन्दै कसैलाई चित्त नदुखाउन आग्रह गरे । साथै गाउँगाउँमा पुगेर कांग्रेस भएकै कारण शिर निहुराएर हिँड्नु नपर्ने वातावरण आफूहरुले बनाउने विश्वास समेत व्यक्त गरेका थिए ।
आफूहरुमाथि कारबाही भएपछि पार्टी फुटको अवस्थामा गयो भन्ने चर्चा चलिरहेका बेला थापाले भनेका थिए, ‘हाम्रो पार्टी फुटेको छैन, हामी विशेष महाधिवेशन गरिरहेका छौँ । साँझसम्म टुंग्याएर नयाँ नेतृत्व चयन गर्ने काम बाँकी छ ।’
पार्टी नफुटेको अर्थपूर्ण सन्देश दिएका महामन्त्री थापाले बुधबार साँझ सामाजिक सञ्जालमा कांग्रेस सबैको रहेको भन्दै भृकुटीमण्डपमा हजारौँ नेता कार्यकर्ताहरुको तस्बिर सार्वजनिक गरेका छन् ।
उनले तस्बिरसँगै लेखेका छन्, ‘हामी सबैको हो कांग्रेस ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया