महामन्त्री पद बिहानै छाडिसकेको थिएँ, अहिले पार्टीले कारबाही गरेछ : विश्वप्रकाश शर्मा

लोकपथ
385
Shares
बन्दसत्रमा प्रस्ताव पेस गर्दै कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा

काठमाडौं । संस्थापन पक्षको कारबाहीमा परेका कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले आफूले आज बिहानै पद छाडिसकेको दाबी गरेका छन् ।

केन्द्रीय कार्यसमितिको बैठकले महामन्त्री शर्मासहित अर्का महामन्त्री गगनकुमार थापा र सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई कारबाही गरेको थियो ।

त्यसपछि विशेष महाधिवेशनस्थल भृकुटीमण्डपमा नेता कार्यकर्ताहरुलाई सम्बोधन गर्दै आफूले बिहानै महामन्त्री पद छाडिसकेको बताए ।

साथै आफूले पार्टीका दुई युवा नेता प्रदीप पौडेल र गुरुराज घिमिरेलाई महामन्त्रीमा मनोनयन दर्ता गर्न लगाएको समेत बताए ।

‘एकजना साथीले फोन गरेर दाइ कारबाहीमा पर्नुभएछ भन्नुभयो । महामन्त्री त मैले बिहानै छोडिसकेँ भनिदिएँ । बिहानै मैले महामन्त्री छोडेर महामन्त्रीका लागि पार्टीका दुई युवा नेता प्रदीप पौडेल र गुरुराज घिमिरेले मनोनयन दर्ता गर्नुभएको छ,’ शर्माले भने ।

त्यस्तै आफू जीवनकालमा नै पहिलोपटक कारबाहीमा परेको बताए । आफूहरुले पार्टीलाई नयाँ ढंगले पार्टी चलाउन माग गर्दा कारबाहीमा परेको बताए ।

‘केन्द्रीय समिति बैठकले कारबाही गरेको भन्ने सुनेँ । जिन्दगीमा पहिलो चोटि कारबाही भन्ने शब्दमा परियो । म साथीहरूसँग गफ गर्दै थिएँ । बदलिएको समय अनुसार कांग्रेस चलाउँ भन्दा कारबाहीमा परिँदो रहेछ,’ उनले भने ।

शर्माले नआत्तिई पार्टी निर्माणको काममा लाग्न नेता कार्यकर्ताहरुलाई आग्रह समेत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?