काठमाडौं । लोकप्रिय गायक तथा अभिनेता प्रशान्त तामाङको हृदयाघातका कारण निधन भएको छ । दिल्लीस्थित आफ्नै निवासमा उनको मृत्यु भएको हो ।
उनको निधनको खबर फैलिएसँगै नेपाली तथा भारतीय संगीत र फिल्म क्षेत्र शोकमा डुबेको छ । स्वास्थ्यमा कुनै समस्या देखिएको जानकारी नआएको अवस्थामा अचानक भएको यो घटनाले परिवार, शुभेच्छुक र कलाक्षेत्रका सहकर्मीहरूलाई गहिरो स्तब्ध बनाएको छ ।
तामाङ केही दिनअघिसम्म पनि काममै व्यस्त थिए र सामाजिक सञ्जालमार्फत उनका नयाँ परियोजनाबारे चर्चा भइरहेका थिए । इन्डियन आइडलको तेस्रो संस्करण जितेपछि अत्यधिक चर्चामा आएका तामाङ पछिल्लो समय बलिउड सुपरस्टार सलमान खान अभिनीत चलचित्र ‘ब्याटल अफ गलवान’मा अभिनय गर्दै थिए । सो फिल्मका केही दृश्यको डबिङ अझै बाँकी रहेको बताइएको छ, जसका कारण उनका अन्तिम कामहरू अधुरा रहने भएका छन् । फिल्म निर्माण टिमले पनि उनको असामयिक निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ । उनका परिवारजन शोकमा डुबेका छन् भने शुभेच्छुकहरूले सहानुभूति प्रकट गरिरहेका छन् ।
तामाङले नेपाली चलचित्र ‘गोर्खा पल्टन’, ‘परदेशी’ र ‘परदेशी २’ जस्ता सफल तथा चर्चित फिल्ममा अभिनय गरेका थिए । अभिनयमा मात्र होइन, गायनमा पनि उनको उत्तिकै बलियो पहिचान थियो । उनले दर्जनौं लोकप्रिय गीतहरू गाएका छन्, जसमा प्रेम, देशभक्ति र सामाजिक भावनालाई समेटिएको पाइन्छ । उनका गीतहरू आज पनि लाखौं श्रोता–दर्शकको मनमा बसिरहेका छन् ।
भारतीय मूलका नेपालीभाषी गायक तामाङ इन्डियन आइडलको तेस्रो संस्करणका विजेता हुन् । यो सफलता हासिल गरेपछि उनी रातारात चर्चामा आए र नेपाल तथा भारत दुवै देशमा ठूलो फ्यान फलोइङ बनाउन सफल भए । त्यसपछि उनले गायनसँगै अभिनय क्षेत्रमा पनि पाइला राखे र आफूलाई बहुप्रतिभाशाली कलाकारको रूपमा स्थापित गरे । तामाङको जीवन संघर्षपूर्ण थियो । उनी पहिला भारतीय प्रहरीका जवान पनि हुन् । उनको यात्रामा थुप्रै चुनौतीहरू थिए । तर प्रतिभा, मेहनत र आत्मविश्वासका कारण उनले आफूलाई स्थापित गरे । धेरै युवाहरूका लागि उनी प्रेरणाको स्रोत बनेका थिए, जसले सपना देख्न र त्यसलाई पुरा गर्न संघर्ष गर्न सिकाए ।
उनको निधनको खबर सार्वजनिक भएपछि सामाजिक सञ्जाल श्रद्धाञ्जली सन्देशले भरिएको छ । कलाकार, राजनीतिज्ञ, पत्रकार र सर्वसाधारणले तामाङको योगदानको सम्झना गर्दै आत्माको चीर शान्तिको कामना गरेका छन् । धेरैले उनलाई नेपाली संगीत र चलचित्र क्षेत्रका एक चम्किला ताराको रूपमा स्मरण गरेका छन् । प्रशान्त तामाङ अब हामीबीच नरहे पनि उनका गीत, फिल्म र सम्झनाहरू सधैं जीवित रहनेछन् । नेपाली तथा भारतीय कलाक्षेत्रले एक प्रतिभाशाली कलाकार गुमाएको छ, जसको अभाव लामो समयसम्म खड्किरहनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया