एमालेका महिला नेतृहरुको एकैस्वर : केपी ओली ‘नो मोर’

लोकपथ
441
Shares

काठमाडौं । नेकपा एमालेका महिला नेतृहरुले पार्टीलाई सुदृढ बनाउन अध्यक्ष केपी ओलीको विकल्प अपरिहार्य रहेको बताएका छन् ।

मंगलबार पार्टीको आसन्न ११औँ महाधिवेशनका सन्दर्भमा आयोजित अन्तरसंवाद कार्यक्रममा बोल्दै महिला नेतृहरुले तेस्रोपटक पार्टी अध्यक्षमा ओलीको विकल्प खोज्नुपर्ने बताए ।

कार्यक्रममा बोल्दै नेतृ बिन्दा पाण्डेले अध्यक्ष ओली तेस्रो पटक अध्यक्ष नबन्ने र बन्न नहुने बताइन् ।

महाधिवेशनको अन्तिम समयमा अध्यक्ष ओलीले नयाँ अनुहार अगाडी सार्ने समेत दाबी गरिन् । महाधिवेशनको उम्मेद्वारी दर्ता गर्ने दिनसम्ममा अध्यक्ष ओलीले आफुले नेतृत्व छाडेको घोषणा गर्नेमा आफू विश्वस्त रहेको उनले बताइन् ।

‘जुन बेला माधव कमरेड पार्टीको शीर्ष नेतृत्वमा हुनुहुन्थ्यो । १५ वर्षसम्म उहाँ त्यहाँ रहँदाखेरीमा पार्टीमा नेतृत्व विकास हुन सकेन, जाम भयो, त्यो जाम खुलाउनको लागि पछिल्लो चरणमा दुई कार्यकाल भएपनि अहिले पहिलो केही अवधिको लागि एक कार्यकालमा पनि अलि छिटो छिटो महाधिवेशन गरेर नेतृत्व परिवर्तन गर्नुपर्छ भन्ने मान्यतालाई स्थापित गर्ने हाम्रो अध्यक्ष केपी ओली आज आफू शीर्ष तहमा पुगेपछि आजीवन त्यो पदमा रहिरहनपर्छ भन्ने खालको स्थिति सोच्नु एकदमै उहाँको आफैँले स्थापित गरेको मूल्य र मान्यता भन्दा गलत कुरा हो । मलाई लाग्छ, २२ गतेसम्मको स्थितिमा उहाँको एउटा मनस्थिति थियो । तर अहिले परिवर्तित स्थितिमा सायद फेरि एकपल्ट आफैँले स्थापना गरेको मूल्य र मान्यतालाई कम्तिमा पनि मैले बिदा लिँदै गर्दाखेरिमा त्यसलाई स्थापित गरेर जानुपर्छ भन्ने मनस्तिथिमा उहाँ पुग्नुहुनेछ । अझैपनि ५ दिन बाँकी छ, मेरो अपेक्षा के हो भन्दा हामी ११औँ महाधिवेशनको नोमिनेशन गर्ने तहसम्म पुग्ने बेलामा केपी कमरेडले मैले बिदा लिएँ, अब अरु साथीले नेतृत्व गर्नुहुनेछ र मैले साईडमा बसेर, पद छाड्ने भनेको पार्टी छाड्ने होईन, पद छाड्ने भनेको साईडमा बसेर आफू भन्दा पछाडीकोलाई मेन्टरिङ गर्ने कुरा हो,’ पाण्डेको तर्क रहेको छ ।

ओलीले राजनीतिमा एउटा मान्यता खडा गरेको बताउँदै आगामी महाधिवेशनबाट सहज नेतृत्व छाडेमा नयाँ मान्यता स्थापित हुने उनको विश्वास रहेको छ ।

‘लोकतान्त्रिक पद्धतिमा उहाँले मान्यता स्थापित गर्नुभएको थियो, अब नेतृत्वले आफू साईडमा बसेर नयाँ आउने पुस्तालाई मेन्टरिङ गर्नुपर्छ भन्ने खालको अर्को मान्यता पनि स्थापित गर्नेतर्फ उहाँ जानुभयो भने उहाँले अहिलेसम्म गर्नुभएको कामको एउटा खाका त छँदैनै छ, राजनितिक र मानवीय हिसावबाट पनि उहाँले अर्को मान्यता स्थापित गर्न सक्नुहुनेछ,’ उनले भनिन् ।

यता कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य रचना खड्काले पार्टी नेतृत्वले जनताले चाहिरहेका छन् भन्ने बुझ्न नसकेको टिप्पणी गरिन् । उनले महाधिवेशनमा भाग लिन आएका महाधिवेशन प्रतिनिधिहरुले जनता र पार्टी नेतृत्व दुबैको कुरा सुनेको उनको भनाई छ । उनले पार्टीका पदाधिकारीमा रहेका व्यक्तिहरुले नै महाधिवेशनबाट अध्यक्ष ओली नै दोहोरिने भन्ने गरेकोमा पनि आपत्ति जनाइन् । महाधिवेशन अगाडी नै पूर्वनिर्धारित जस्तो अभिव्यक्ति जिम्मेवार व्यक्तिबाट नै आउनु अस्वाभविक रहेको उनको भनाई छ ।

‘हामीलाई लाग्छ हाम्रो नेतृत्वले हामी जस्ता धेरैको कुरा सुनेको छ । नेतृत्वले पार्टीमा भएका विभिन्न संरचनाका व्यक्तिहरुको कुरा सुनेको छ । जनतासँगको अन्तरक्रिया, जनताले के भनिरहेको छन् भन्ने कुराको अझै भेउ पाउन भने सकेको छैन । तर पार्टी सदस्य जो महाधिवेशन प्रतिनिधि भएर आएको छ, उनीहरुले नेतृत्वको पनि कुरा सुनेको छ र आम जनताको पनि कुरा सुनेको छ,’ उनले भनिन्, ‘पार्टीको नेतृत्व र जनताबिचको कुरा मिलेको छ कि छैन भन्ने पनि उसलाई थाहा छ । त्यसैलै आजको पार्टीपंक्ति र महाधिवेशन प्रतिनिधिले जसले पार्टी नेतृत्व र जनता दुवैको कुरा सुनेको छ, उसलाई थाहा छ पार्टी कस्तो बनाउनुपर्छ । आजको पार्टीको चुनौती के हुन र जनताले हामीसँग के डिफर राखिरहेको छ । के कुरामा सहमत छ र के कुरालाई प्रोत्साहन गर्नुपर्छ र के कुरालाई निरुत्साहित गर्नुपर्छ भन्ने कुरा महाधिवेशन प्रतिनिधिले राम्रोसँग बुझेको छ ।’

यसैगरी केन्द्रीय सदस्य उषाकिरण तिमल्सिनाले ईश्वर पोखरेलको पार्टीमा योगदान केपी ओलीको भन्दा कम नभएको बताइन् ।

केपी ओली र ईश्वर पोखरेलसँगै राजनीतिमा लागेको उल्लेख गर्दै उनले कोअर्डिनेसन केन्द्रदेखि नै पोखरेल निरन्तर रुपमा देशका सम्पूर्ण भूगोलमा गएर पार्टीको काम गरेको बताइन् । ओलीले पार्टी र राज्यसत्ता मनपरि ढंगले चलाएर आफूहरुको कुरा नसुनेको गुनासो गर्दै उनले पोखरेलले आफूहरुका कुरा सुन्ने विश्वास व्यक्त गरिन् ।

‘कमरेड केपी शर्मा ओली जुन बेलादेखी पार्टी राजनितिमा जोडिनुभएको थियो । सोही बेलादेखि नै पार्टी राजनीतिमा हुनुभएका, कोअर्डिनेसन केन्द्रदेखी निरन्तर रुपमा यो देशका सम्पूर्ण भुगोलमा गएर पार्टीको काम गर्नुभएका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल हाम्रो टिमको नेतृत्व गरेर उभिनुभएको छ । उहाँले सामूहिक रुपमा पार्टी चलाउने प्रतिवद्धता जनाउनुभएको छ । आज केपी शर्मा ओली जसले पार्टी र राज्यसत्ता मनपरि ढंगले चलाएर हामीले भनेको कुरा सुन्नुभएन, हामीलाई के विश्वास छ भने हाम्रो नेताले हाम्रो कुरा सुन्नुहुनेछ, सुन्नुभएन भने हामी फेरि सुन्ने गरी ठूलो आवाजमा भन्नेछौँ । यो आवाज आज दिन प्रतिदिन बढिरहेको छ,’ उनले भनिन् ।

त्यस्तै पार्टी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले अध्यक्ष ओलीलाई पार्टी नेतृत्वबाट बिदा गरेर नयाँ ढंगले अघि बढ्नुपर्नेमा जोड दिइन् । उनले कार्यक्रममा बोल्दै ओलीले महिलाहरुलाई अपमान गर्ने गरेको समेत आरोप लगाइन् ।

ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई धामीझाँक्री भनेर अपमान गरेको बताइन् ।

‘एउटा पूर्वराष्ट्रपति, परमाधिपति पनि भन्छौँ, देशको संरक्षक पनि भन्छौँ, संविधानको संरक्षक पनि भन्छौँ । उहाँलाई धामीझाँक्री भनेको के हो ? यस्तो अपमान गर्न पाइन्छ ? सामान्य महिलालाई त गर्न पाइँदैन भने पूर्वराष्ट्रपति भईसकेकोलाई यो शब्दले अपमान गर्ने हद भनेको यो नेतृत्वलाई सुहाउँदैन । यो नेतृत्वले गर्नै हुँदैन । तर गर्न हुन्छ, कसले गर्न हुन्छ रु केपी ओलीले गर्न हुन्छ । किनभने उहाँमा सोच नै छैन, महिलाप्रति हेर्ने दृष्टिकोण नै छैन । महिलालाई अपमान गरेको गर्‍यै छ । आधा भन्दा बढी जनसंख्याको हिस्सा महिलाले ओगटिरहेको अवस्थामा, महिला हिंसा विरुद्धको यत्रो १६ दिने अभियान मात्रै होईन, निरन्तर आवाज उठीरहको बेलामा यो खालको शब्द प्रयोग गर्ने भनेको सबै महिलाहरुको अपमान हो । यसको विरुद्ध सशक्त आवाज उठ्नुपर्छ । यस्तो नेतृत्व अबको आवश्यक्ता होईन,’ उनले भनिन्, ‘महिलालाई अपमान गर्ने नेतृत्व आजको आवश्यक्ता होईन । महिलालाई अवमुल्यन गर्ने नेतृत्व आजको आवश्यकता होइन । त्यसो भएको हुनाले यो ईस्यू चाहीँ जल्दोबल्दो रुपमा उठाउनुपर्छ, उठ्नुपर्छ ।’

यता केन्द्रीय सदस्य सर्मिला कार्की, सरिता न्यौपाने लगायतले नेतृत्व परिवर्तनमा जोड दिएका छन् । उनीहरुले दुई कार्यकाल अध्यक्ष र ७० वर्षे उमेरहदलाई अनिवार्य लागू गर्नुपर्ने बताए । अध्यक्ष ओलीले सहज रुपमा नेतृत्व हस्तान्तरण गर्नु नै आजको आवश्यकता रहेको उनीहरुले औँल्याएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?