काठमाडौं । नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले एमाले अध्यक्ष केपी ओलीले महिलाहरुलाई सधैँ अपमान गरेको आरोप लगाएकी छन् ।
एमालेको ११औँ महाधिवेशनको सन्दर्भमा मंगलबार आयोजित अन्तरसंवाद कार्यक्रममा उनले यस्तो आरोप लगाएकी हुन् ।
एमाले अध्यक्ष ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई धामीझाँक्री भनेर अपमान गरेको बताइन् । पटकपटक प्रधानमन्त्री भईसकेको व्यक्तिले पूर्वराष्ट्रपतिलाई पटकपटक अपमानित शब्दहरु प्रयोग गर्ने गरेको उनको आरोप छ ।
उनले कुनैपनि नेतृत्वलाई महिलाहरुको अपमान गर्न नसुहाउने भएपनि केपी ओलीलाई भने सुहाउने भन्दै व्यङ्ग्य पनि गरिन् ।
ओलीमा महिलालाई हेर्ने सकरात्मक सोच र दृष्टिकोण नै नभएको उनको दाबी छ । उनले महिलाको अपमान गर्नेको विरुद्ध सशक्त आवाज उठाउनुपर्ने बताइन् ।
उनले भनिन्, ‘एउटा पूर्वराष्ट्रपति, परमाधिपति पनि भन्छौँ, देशको संरक्षक पनि भन्छौँ, संविधानको संरक्षक पनि भन्छौँ । उहाँलाई धामीझाँक्री भनेको के हो ? यस्तो अपमान गर्न पाइन्छ ? सामान्य महिलालाई त गर्न पाइँदैन भने पूर्वराष्ट्रपति भईसकेकोलाई यो शब्दले अपमान गर्ने हद भनेको यो नेतृत्वलाई सुहाउँदैन । यो नेतृत्वले गर्नै हुँदैन । तर गर्न हुन्छ, कसले गर्न हुन्छ ? केपी ओलीले गर्न हुन्छ । किनभने उहाँमा सोच नै छैन । महिलाप्रति हेर्ने दृष्टिकोण नै छैन । महिलालाई अपमान गरेको गर्यै छ । आधा भन्दा बढी जनसंख्याको हिस्सा महिलाले ओगटिरहेको अवस्थामा, महिला हिंसा विरुद्धको यत्रो १६ दिने अभियान मात्रै होईन, निरन्तर आवाज उठिरहेको बेलामा यो खालको शब्द प्रयोग गर्ने भनेको सबै महिलाहरुको अपमान हो । यसको विरुद्ध सशक्त आवाज उठ्नुपर्छ । यस्तो नेतृत्व अवको आवश्यक्ता होईन । महिलालाई अपमान गर्ने नेतृत्व आजको आवश्यक्ता होईन । महिलालाई अवमुल्यन गर्ने नेतृत्व आजको आवश्यकता होइन । त्यसो भएको हुनाले यो ईस्यू चाहीँ जल्दोबल्दो रुपमा उठाउनुपर्छ, उठ्नुपर्छ ।’
उनले अध्यक्ष ओली कहिल्यै नसच्चिने दाबी गरिन् । उनले ओलीको नेतृत्वमा नै अब पनि एमाले जाने हो भने एमाले र देश दुवै कमजोर हुने बताउँदै एमाले बलियो बनाउन ओलीलाई अध्यक्ष बनाउन नहुने जिकिर गरिन् । ११औँ महाधिवेशनबाट केपी ओली अध्यक्ष नबन्ने उनको भनाई छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया