काँकरभिट्टाबाट चार महिनामा ६ अर्बको पेट्रोलियम पदार्थ आयात

लोकपथ
84
Shares

झापा । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकमा पूर्वी भन्सार नाका काँकडभिट्टाबाट ६ अर्ब २ करोड रुपैयाँभन्दा बढीकाे पेट्रोलियम पदार्थ आयात भएका छन् । 

मेची भन्सार कार्यालयका अनुसार पेट्रोल, डिजेल, एलपी ग्यास, एटिएफ र मट्टितेल गरी कुल ६ अर्ब २ करोड ७६ लाख ४५ हजार रुपैयाँ बराबरका पेट्रोलियम पदार्थ भित्रिएका हुन् ।

भन्सार कार्यालयका सूचना अधिकारी तथा भन्सार अधिकृत ईश्वरकुमार हुमागाईंका अनुसार अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिको तुलनामा यस वर्ष दुई दशमलव ०१ प्रतिशतले पेट्रोलियम पदार्थको आयात वृद्धि भएको छ । 

आयात वृद्धिसँगै राजस्व संकलन पनि बढेको कार्यालयले जनाएको छ । पहिलो चौमासिकमा पेट्रोलियम पदार्थबाट उठेको राजस्व २ दशमलव ९० प्रतिशत अर्थात् ८ करोड ४१ लाख २२ हजारले वृद्धि भएको हुमागाईंले जानकारी दिए ।

चार महिनामा पेट्रोलियम पदार्थ आयातबाट कुल २ अर्ब ९६ करोड ८१ लाख ४५ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।

आयात विवरणअनुसार सो अवधिमा ३५ हजार १५६ किलोलिटर पेट्रोल आयात गरिएको छ, जसको मूल्य ३ अर्ब १० करोड ५४ लाख रुपैयाँ रहेको छ ।

त्यसैगरी १८ हजार ४०८ किलोलिटर डिजेल आयात भएको छ, जसको मूल्य १ अर्ब ७४ करोड ६८ लाख रुपैयाँ रहेको छ ।

चार महिनामा ८ हजार ५५७ मेट्रिक टन एलपी ग्यास आयात हुँदा ८२ करोड ६३ लाख रुपैयाँ बराबरको कारोबार भएको कार्यालयले जनाएको छ ।

यस्तै २ हजार ९०८ किलोलिटर एटिएफ आयातमा २६ करोड ३३ लाख रुपैयाँ र ५०८ किलोलिटर मट्टितेल आयातमा ४ करोड ६१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?