काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत जारी त्रिदेशीय शृंखलामा नेपालले घरेलु टिमविरुद्ध २४० रनको लक्ष्य प्रस्तुत गरेको छ ।
युनाइटेड अरब इमिरेट्स (युएई) मा बुधबार जारी खेलमा टस हारेर ब्याटिङमा आएको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २३९ रनको योगफल खडा गरेको हो ।
खेलमा कुनै पनि नेपाली खेलाडीले अद्र्धशतक बनाउन सकेनन् । नेपालका भीम सार्कीले बनाएको ४८ रन नै सबैभन्दा ठूलो रन बन्न पुग्यो । ६८ बल खेलेका उनले सात चौकाको सहयोगमा ४८ रन बनाउन सकेका थिए ।
सार्कीपछि सबैभन्दा बढी रन कुशल मल्लले जोडे । मध्यक्रमका ब्याटर कुशलले ५१ बलमा एक चौका र तीन छक्काको सहयोगमा ४६ रन बनाएका थिए ।
ओपनर आसिफ सेखले ४८ बलमा चार चौकासहित ३४ रन, दीपेन्द्रसिंह ऐरीले ३७ रन, आरिफ सेखले ३० रन बनाएका थिए । १०औँ नम्बरमा ब्याटिङका निम्ति आएका सन्दीप लामिछानेले अविजित १५ रन जोडेका थिए ।
कुशल मल्ल र सन्दीप लामिछानेले नवौँ विकेटका निम्ति ४२ रनको साझेदारी गरेका थिए ।
कप्तान रोहित पौडेल ७ बलमा २ रन बनाउँदा क्याच आउट भएका थिए । नन्दन यादव १ रनमा बोल्ड भए । करण केसी शून्य रनमा नै पेभेलियन फर्के ।
लिग–२ को यो शृंखलामा नेपाल आज पहिलो जितको खोजीमा छ । नेपालले यसअघि पहिलो खेलमा अमेरिकासँग १०६, दोस्रो खेलमा युएईविरुद्ध पाँच र तेस्रो खेलमा पुनः अमेरिकासँग चार विकेटको हार बेहोरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया