काठमाडौं । मानिस कुनै पनि ठाउँमा किन काम गर्छ ? जवाफ प्रस्ट छ : रोजगारीका लागि । काम गर्दा दुई पक्षबीच रकमको सम्झौता पनि हुन्छ । तलब नपाएसम्म कोही पनि काम गर्न चाहँदैनन् । अझ भनौँ पैसा तिरेर नै जागिर खानु पर्ने भएमा हामी त्यसको बारेमा सोच्न पनि सक्दैनौँ ।
तर चीनमा भने जागिर खानेले उल्टै कम्पनी/कार्यालयलाई तलब दिने गरेको पाइएको छ ।
चीनमा बेरोजगारी दर बढ्दै गएपछि युवा वयस्कहरू घरमै बस्नुभन्दा पैसा तिरेर नक्कली कार्यालयमा गएर काम गर्ने प्रवृत्ति बढेको छ । यस्तो प्रवृत्ति अहिले चीनका प्रमुख सहरहरूमा फैलिएको छ ।
१४ प्रतिशतभन्दा बढी रहेको बेरोजगारी दरका कारण वास्तविक जागिर पाउन कठिन भएको अवस्थामा डोङगुआन सहरस्थित ‘प्रिटेन्ड टु वर्क’ कम्पनीले यस्तो सेवा प्रदान गरिरहेको छ ।
यस कम्पनीमा सहभागीहरूले दैनिक ३० देखि ५० युआन तिरेर कम्प्युटर, इन्टरनेट र बैठक कोठासहितको कार्यालयमा बस्न पाउँछन् । उनीहरूले त्यहाँ बस्नेसँगै जागिरको लागि आवेदन दिन वा आफ्नै स्टार्टअप व्यवसाय सुरु गर्ने तयारी गर्न सक्नेछन् ।
३० वर्षीया शुई झोउले आफ्नो खाद्य व्यवसाय असफल भएपछि यो सेवा प्रयोग गर्न थालिन् । उनले भनिन्, ‘यहाँ आएपछि समूहमा काम गरिरहेको जस्तो लाग्छ, जसले मलाई खुसी बनाउँछ ।’
यस किसिमका नक्कली कार्यालयहरू अहिले शेन्जेन, सांघाई, नान्जिङ, वुहान, छेन्दु र कुनमिङलगायतका सहरहरूमा पनि खुलेका छन् ।
न्युजिल्यान्डको भिक्टोरिया विश्वविद्यालयका डा. क्रिश्चियन याओका अनुसार, काम गरेको नाटक गर्ने प्रवृत्ति चीनको आर्थिक रूपान्तरण र युवाहरूको शिक्षा र रोजगारबीचको असन्तुलनको परिणाम हो । यी प्रिटेन्ड अफिस कम्पनीहरू युवा वर्गका लागि संक्रमणकालीन समाधानका रूपमा काम गर्छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया