भाडा नदिँदा ‘घर निकाला’ को नयाँ शैली : घरधनीले घरलाई नै अधुरो बनाइदिए

लोकपथ
3.8k
Shares

कहिलेकाँही दुनियामा अनौठो अनौठो समाचारहरू बाहिरने गर्छन् । त्यस्तै हालै मात्रै फ्रान्सबाट एउटा अनौठो समाचार बाहिर आएको छ । समान्यतया फ्रान्समा जाडो मौसममा घर भाडामा बसिरहेका मानिसहरूलाई निकाल्न पाइन्न ।

फ्रान्समा मात्रै होइन अधिकांश युरोपेली देशमा यही नियम लागु छ । भाडामा बस्नेले भाडा तिरेनन् भने पनि उनीहरूलाई घरबाट निस्केर जा भन्न मिल्दैन । तर उत्तरी फ्रान्सको पास–डी–कलाइसमा एक जना घर मालिकले भने यो समस्याको अनौठो उपाय निकालेका छन् ।

लामो समयदेखि घर भाडा नतिरेका भाडावालहरूलाई सिधै निस्केर जाऊ भन्दा कानुनी झमेलामा फसिने भएकोले ती घर मालिकले घरको झ्याल र ढोका सबै निकालिदिए । डिसेम्बर २० मा कामदारहरूको एउटा समूह आएर झ्याल र ढोका निकाल्न थाले । सुरुमा त उनीहरूले झ्याल फेर्न त्यसो गरेको बताएका थिए ।

तर निकालिसकेपछि पुराना झ्याल र ढोका कारमा हालेर उनीहरू भागेको भाडामा बस्नेको गुनासो छ । यस घटनापछि उक्त घरमा बस्ने महिलाले घर मालिकलाई भेट्न खोजिन् । तर केही गर्दा पनि भेट्न सकिनन् । अरू उपाय केही नभएपछि महिलाले झ्याल र ढोका भएको ठाउँमा कार्डबोर्ड राखिन् ।

बलियो झ्याल ढोका नभएकोले चोर पस्छ कि भन्ने डरले महिला चौबिसै घण्टा घरमै बस्न थालेकी छिन् । फ्रान्सेली सञ्चार माध्यमले यस घटनाबारे सोध्दा घर मालिकले आफैँले घरको झ्याल ढोका निकाल्न लगाएको भनेका छन् ।

पाँच महिनाको घर भाडा नदिएको र घरको बिमाको रकम मिलेर तिर्ने सहमति तोडेकोले आफूले त्यस्तो कदम चालेको घरधनीले बताएका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?