काठमाडौं । संयुक्त राष्ट्रसंघको अनुरोधमा शान्ति स्थापनार्थ युनाइटेड नेसन्स मिसन इन साउथ सुडानमा नेपाल फर्म्ड पुलिस युनिट (एफपीयू)मा कमान्डरका रूपमा खटिइँदा एक नर्वेजियन महिला कर्मचारीमाथि अभद्र व्यवहार गरेको आरोप लागेका सशस्त्र प्रहरी बलका एसएसपी रवीन्द्रराज कर्णजीतलाई पाँच वर्ष बढुवा रोक्का गरिएको छ ।
११ औँ डफ्फाको टोलीका एफपीयू कमान्डर एसएसपी कर्णजीतमाथि आफ्नो कार्यकाल सकेर स्वदेश फर्किनुभन्दा केही दिनअघि युएनमै कार्यरत एक नर्वेजियन महिला कर्मचारीमाथि अभद्र व्यवहार गरेको आरोप लागेको थियो ।
उनीमाथि त्यहाँको एक रेस्टुरेन्ट (टुकुल) मा ती नर्वेजियन महिला कर्मचारीको गोप्य अंगमा स्पर्श गरेको आरोप थियो । कर्णजीतको व्यवहारबाट रिसाएकी ती महिलाले त्यतिखेर नै त्यहाँ हंगामा मच्चाएकी थिइन् । तर कर्णजीतले रोईकराई गरेर उजुरी गर्नबाट रोकेका थिए ।
तर ती नर्वेजियन महिलाले पछि यूएन हेडक्वाटरमा उजुरी दिएपछि मात्रै एसएसपी कर्णजीतको अभद्र व्यवहारबारेको जानकारी सशस्त्र प्रहरी मुख्यालयले पाएको थियो । यूएन हेडक्वाटरले सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललाई घटनाकाबारेमा मेल गरेपछि मात्रै सशस्त्र मुख्यालयले यो बारेमा थाहा पाएको थियो । सशस्त्र मुख्यालयलाई यूएन मुख्यालयले दुई पटक पत्र पठाएको थियो । पहिलो पत्रको बेवास्ता गरेपछि यूएन मुख्यालयले दोस्रो पटक चुनौतीपूर्ण भाषा उल्लेख गरेर दोस्रो पत्र पठाएको थियो । त्यसपछि मात्रै सशस्त्र मुख्यालयले यो विषयमा छानबिन थालेको थियो । छानबिनका क्रममा सशस्त्र मुख्यालयले उनीसँगै फर्किएको टोलीसँगसमेत सोधपुछ गरेको थियो ।
स्रोतका अनुसार, छानबिनका क्रममा एसएसपी कर्णजीतले ती महिलामाथि अभद्र व्यवहार खुलेको पुष्टि भएपछि सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले उनको पाँच वर्ष बढुवा रोक्का गरेका हुन् । उनीमाथि गरिएको यस्तो कारबाहीको जानकारी सशस्त्र मुख्यालयले यूएन मुख्यालयलाई समेत दिइसकेको छ ।
एसएसपी कर्णजीतको टोलीलाई सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक जहरसिंह बुढाको टोलीले ‘रिप्लेस’ गरेको थियो । बुढाको टोली गत वैशाख २३ गते राति इथियोपियन एयरलाइन्सद्वारा त्यसतर्फ प्रस्थान गरेको थियो । १८० जनाको सो टोलीलाई वैशाख २१ गते सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले बिदाइ गरेको थियो । सशस्त्रको एफपीयू मिसन साउन सुडानको जुबामा खटिँदै आएको छ ।
एफपीयू कमान्डर कर्णजीतले सुडानको एक रेस्टुरेन्ट (टुकुल) मा नर्वेजियन महिला कर्मचारीको गोप्य अंगमा स्पर्श गरेको समाचार लोकपथ डटकमले असार ३ गते नै ‘ब्रेक’ गरेको थियो ।
सशस्त्र प्रहरीमा उनलाई सोझो, जिम्मेवार र इमानदार अधिकृतका रूपमा चिन्ने जमात ठूलै छ । त्यही भएर नै महानिरीक्षक अर्यालले उनलाई एसएसपी बढुवामा अलि अगाडि तानेका थिए ।
अंग्रेजी भाषामा राम्रो दक्खल राखेका कर्णजीत सुरक्षा निकायमा आउनुअघि बनेपास्थित एक निजी स्कुलको ‘प्रिन्सिपल’ पनि थिए । आफूमाथि गम्भीर आरोप लागेपछि उनले आफ्नो फेसबुक एकाउन्टसमेत ‘डि–एक्टिभ’ गरेका थिए । उनको फेसबुक एकाउन्टमा यसअघि प्रायः पारिवारिक तस्बिर मात्रै देखिन्थ्यो ।
यो पनि :
नर्वेजियन महिलामाथि अभद्र व्यवहारको ‘बात’ले सशस्त्रमा हलचल, फर्किएको टोलीसँग बुझ्दै सशस्त्र मुख्यालय
सशस्त्रका एसएसपी कर्णजीतमाथि नर्वेजियन महिलालाई अभद्र व्यवहार गरेको आरोप, यूएन मुख्यालयले लेख्यो पत्र
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया