काठमाडौं । नेपाली सिनेक्षेत्रका महानायक राजेश हमालको जीवन, सिनेमा र समाजप्रतिको दृष्टिकोण समेटिएको पुस्तक ‘युगदेखि युगसम्म’ आगामी भदौ दोस्रो साताभित्र सार्वजनिक हुने भएको छ ।
पुस्तक प्रकाशक फाइनप्रिन्टका अनुसार दसैँको अवसरमा पाठकलाई विशेष उपहारस्वरूप यो पुस्तक बजारमा ल्याउने तयारी अन्तिम चरणमा पुगेको छ ।
हमालको जन्मदिनको अवसर पारेर सोमबार काठमाडौंमा पुस्तकको आवरण सार्वजनिक गरियो । अभिनेता हमाल र फाइनप्रिन्टका प्रमुख कार्यकारी अधिकृत नीरज भारीले संयुक्त रूपमा आवरण अनावरण गरे ।
‘बहुप्रतीक्षित एवं महत्वाकांक्षी साहित्यिक कृतिका रूपमा यो पुस्तकलाई हेरिएको छ,’ भारीले कार्यक्रममा भने, ‘हामी धेरै समयदेखि पुस्तकको तयारीमा थियौँ । अब यो दसैँको कोसेली बन्नेछ भन्ने विश्वास लिएको छु ।’
पुस्तकमा अभिनेता हमालको ३५ वर्षे फिल्म यात्रा, पहिलोपटक सार्वजनिक हुने उनको निजी जीवनका पक्षहरू, परिवार, समाज र विचारहरू समेटिएको छ । पुस्तक पत्रकार यज्ञशसँगको सहकार्यमा तयार पारिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया