‘महाराजाधिराज’मा उषा रजक जोडिएसँगै प्रमुख कलाकारहरूको लाइन अप पूरा

लोकपथ
560
Shares

काठमाडौं । निर्देशक परिच्छेद सेनको आगामी नेपाली चलचित्र ‘महाराजाधिराज’ मा अभिनेत्री उषा रजक अनुबन्ध भएपछि फिल्मको मुख्य कलाकार टोली पूरा भएको छ । निर्माण टिमले रजकलाई चलचित्रको प्रमुख भूमिकामा अनुबन्ध गरेको हो । 

यसअघि नै आर्यन सिक्देल, रमेश उप्रेती, पल शाह र पुष्प खड्का जस्ता चर्चित अभिनेता फिल्ममा फाइनल भइसकेका छन् । अभिनेत्रीको तर्फबाट वर्षा राउत र वर्षा शिवाकोटी पनि मुख्य भूमिकामा अनुबन्ध भएका छन् । 

‘महाराजाधिराज’ले पुराना र नयाँ पुस्ताका कलाकारहरूलाई मिसाएर दर्शकलाई फरक स्वाद दिने तयारीमा छ । फिल्ममा यसअघि नै जयकिशन बस्नेत, गजित विष्ट र आशा पौडेल पनि अनुबन्ध भइसकेका छन् ।

प्रस्तुतकर्ता बिराज विष्टका अनुसार उषा रजकको अनुबन्धसँगै प्रमुख कलाकारहरूको लाइन अप अन्तिम भएको हो । उनले भने, ‘हामीले अभिनयमा अनुभवी र चर्चित अनुहारहरूलाई समेटेका छौँ । अब केही सहायक भूमिकामा कलाकार चयन बाँकी छ । हाम्रो टोली मजबुत बनेको छ ।’

छत्रेश्वर म्यानेजमेन्ट प्रालिको ब्यानरमा निर्माण हुने यो चलचित्रमा निर्देशक सेन स्वयंको लेखन रहेको छ । उनले यसअघि निर्देशन गरेको सिनेमा ‘प्रेमगञ्ज’ समीक्षात्मक रूपमा अब्बल ठहरिएको थियो । 

‘महाराजाधिराज’का निर्मातामा टोपेन्द्र विष्ट, चक्रबहादुर केसी र रवि खड्का हुन् । ‘महाराजाधिराज’ आगामी फूलपातीमा देशभर प्रदर्शनमा आउने तयारीमा छ । छायांकन मिति र प्राविधिक टोलीको विस्तृत विवरण चाँडै सार्वजनिक गरिने निर्माणपक्षले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?