काठमाडौं । ०८१ साल जेठ १३ गतेतिर यानेकी ठ्याक्कै एक वर्ष अघि कांग्रेसले केही दिन मात्र भएको थियो संसदमा विरोध गर्न छोडेको । विरोधको कारण थियो, तत्कालीन गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगीको आरोप ।
त्यसबेला महिनौँ दिनसम्म संसदमा अवरोध खडा गरेर कांग्रेसको बटमलाइन थियो, ‘गृहमन्त्रीको राजीनामा’, ‘संसदीय छानबिन समिति’ र ‘तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको जवाफ’ ।
महिनौँ संसदमा रडाको मच्चाएर कांग्रेसको तीन वटै मागहरु पूरा भएपछि कांग्रेस चुप लागेको थियो । बजेट भाषणको समय नजिकिँदै गर्दा विपक्षीमा रहेको संसदकै सबैभन्दा ठूलो दलको विरोधले आत्तिएको सत्तापक्षले अन्नतः घुँडा टेक्यो । संसदीय छानबिन समितिका लागि कार्यदल बन्यो, त्यसले ‘टीओआर’ तयार गर्यो र बन्यो संसदीय छानबिन समिति । त्यही समितिको प्रतिवेदनका आधारमा रविमाथि छानबिन भयो, अहिले पुपक्र्षका लागि थुनामा छन् ।
ठ्याक्कै एकवर्षपछि अर्थात् अहिले सत्तापक्षमा कांग्रेस र प्रतिपक्षमा रास्वपा हुँदा संसदमा उही प्रक्रिया दोहोरिएको छ ।
मंगलबारको प्रतिनिधि सभा बैठकमा रविको दल रास्वपाले पनि ती तीन विषयलाई नै आफ्नो बटमलाइन बनाएको छ । ‘गृहमन्त्रीको राजीनामा’, ‘उच्चस्तरीय छानबिन समिति’ र ‘प्रधानमन्त्रीको जवाफ’ ।
‘भ्रष्टाचार आफू पनि गर्दिन र गर्न पनि दिन्न’ भन्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निरन्तरको प्रतिबद्धता र यसअघिको गृहमन्त्री रमेश लेखकको मृदुभाषी स्वरमा नैतिकताको पाठ पुनः रास्वपाले सरकारलाई सम्झाइदिएको छ ।
लेखकको नियति : एक वर्ष पहिले नैतिक प्रश्न तेर्स्याए, अहिले आफैँ ‘कठघरा’मा !
आजको प्रतिनिधि सभा बैठक बिहान ११ बजेको निर्धारित समयभन्दा केही मिनेट ढिला गरी सुरु भयो । पूर्व संकेत अनुसार गृहमन्त्री लेखकको राजीनामा माग्ने तयारीमा देखिएका विपक्षी दलहरुले सुरुमै विरोध जनाए । त्यसपछि विपक्षीको तर्फबाट बोलेका माओवादी सांसद वर्षमान पुनले अरु भनेनन्, केवल गृहमन्त्रीको राजीनामा माग गरे ।

उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनबाट भिजिट भिसा मार्फत हुने मानव तस्करीमा जोडिएका कर्मचारीलाई गृहमन्त्रीले जोगाएको र त्यसको लहरो माथिसम्मै पुग्ने भन्दै गृहमन्त्रीले राजीनामा दिएर अनुसन्धानलाई सघाउन आग्रह गरे ।
अहिले नै लेखकलाई दोषी किटान गर्न नसकिने तर प्रश्न उठ्दा मन्त्रीले राजीनामा दिनुपर्छ भन्ने यसअघि तत्कालीन कांग्रेस प्रमुख सचेतक रहेका लेखकले बोलेको विषय स्मरण गराए ।
त्यसपछि बोलेका रास्वपाका सांसद शिशिर खनालले वर्तमान गृहमन्त्री लेखकले रविको सहकारी प्रकरणमा बोलेको कुरा स्मरण गराउँदै कुरा सुरु गरे ।
‘कुनै मन्त्रीमाथि प्रश्न उठेपछि राजीनामा दिनुपर्छ’ भन्दै त्यसअघिका नैतिकताका इतिहासहरु अघि सारेर लेखकले नै रविमाथि नैतिक दबाब बढाएको विषय कोट्टयाए । साथै उनले मानव तस्करीसँग जोडिएको उक्त विषयमा माथिल्लो तहसम्मको संलग्नता रहेको आशंका रहेको र त्यसका लागि छानबिन हुनुपर्ने माग अघि सारे ।

‘यो त म्यानपावरदेखि एयरलाइन्ससम्म कर्मचारीदेखि मन्त्रीज्यूसम्मको सचिवालय जोडिएको छ । प्रश्न मन्त्रीज्यूमाथि उठेको छ । अनुसन्धान हुनुपर्छ, राजीनामा आउनुपर्छ । हामी राजीनामा मात्रै माग्दै छैनौँ । संगठित ढंगले गरिएको यो भ्रष्टाचारको निष्पक्ष अनुसन्धान हुनुपर्छ । संगठित अपराध र सम्पत्ति शुद्धीकरणसँग जोडिएर हेर्ने गरी एक उच्चस्तरीय छानबिन आयोग नबनेसम्म संसद चल्न सक्दैन । निर्दोष नेपालीहरुमाथिको अत्याचार हामी टुलुटुल हेरेर बस्न सक्दैनौँ । हामी संसदलाई अगाडि बढाउन सक्दैनौँ ।’
उनले स्पष्टसँग आफ्ना मागहरु पूरा नभएसम्म संसदको गतिविधि अघि बढाउन नदिने चेतावनी दिए । त्यसपछि संसदबाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै खनालले विगत ८ महिनामा मात्रै भिजिट भिसा प्रकरणमा ४ अर्ब भ्रष्टाचार भएको तथ्य सार्वजनिक भएको दाबी गरे ।
‘प्रधानमन्त्रीले के भन्नुभएको छ भने भ्रष्टाचार गर्दिन र भ्रष्टाचार पनि हुन दिन्न भन्नुभएको छ । गृहमन्त्रीको सचिवालय समेत संलग्न भएर पछिल्लो ८ महिनामा मात्रै पनि ४ अर्ब बढीको भ्रष्टाचार भएको छ जस्तो देखिन्छ हाम्रो तथ्यांकको आँकलन अनुसार,’ उनले भने ।
त्यसो त आजको प्रतिनिधि सभा बैठकमा आफूमाथि उठेको प्रश्नको जवाफ दिन गृहमन्त्री लेखक तयारीका साथ संसदमा उपस्थित भएका थिए । उनले यसअघि नै आफूमाथि प्रश्न उठेको भन्दै संसद सचिवालयलाई जानकारी गराउँदै आफूलाई समय दिन भनेका थिए । एक वर्ष अघिको घटनाक्रम सम्झिँदा लामिछानेले आफूमाथि लागेका आरोपबारे संसदमा जवाफ दिन समय मागे, समय पनि पाए । तर तत्कालीन समयमा कांग्रेस प्रमुख सचेतकको हैसियतमा उनै लेखकले रविको जवाफ नसुन्ने भन्दै रोष्टममा जानबाट रोकेका थिए । तर पछि पुनः लामिछानेले आफ्नो व्यक्तिगत सवाल, मन्त्रालयगत सवालमा उठेका प्रश्नहरुको जवाफ दिन पाउँ भन्दै सभामुखलाई पत्र नै लेख्नुपरेको थियो । तर निरन्तर कांग्रेसले रोकेपछि रोस्टम उक्लिन नपाएको रविको नियति देखेका रास्वपाले अहिले उनै लेखकमाथि उही कर्म दोहोर्याएको छ । जसरी कांग्रेसको विरोधपछि जवाफ दिन समय पाउँदा समेत रोस्टम उक्लिन नपाएका रविको हालतमा आजको संसद बैठकमा लेखकको बनेको छ ।

त्यसबेला कांग्रेसले गृहमन्त्रीले जवाफ दिएर आफूहरुले नमान्ने भन्दै प्रधानमन्त्रीकै जवाफ माग गरेका थिए । तर प्रधानमन्त्रीको जवाफ समेत चित्त नबुझेपछि जोडतोडले संसदीय छानबिन समितिको माग उछालेका थिए ।
त्यही घटनाक्रमलाई स्मरण गर्दै सांसद खनालले गृहमन्त्रीको राजीनामा, प्रधानमन्त्रीको जवाफ र संसदीय छानबिन समिति आफूहरुको बटमलाइन रहेको स्पष्ट पारे ।
‘यदी जवाफ दिने हो भने प्रधानमन्त्रीले दिनुपर्छ, गृहमन्त्री चाँही अनुसन्धानको घेरामा तानिनुपर्छ । गृहमन्त्रीमाथि अनुसन्धान सुरु हुनुपर्छ,’ उनले भने, ‘हामीले उहाँको राजीनामा सँगसँगै एउटा उच्चस्तरीय छानबिन समिति र यसमा संगठित अपराध र सम्पत्ति शुद्धीकरणसँग जोडेर बनाउनुपर्छ । यसमा कुनै एउटा सरकारी निकाय मात्र छ जस्तो देखिँदैन । यसमा एयरलाइन्सहरुको संलग्नताको कुराहरु उठिराखेको छ । राजीनामा र छानबिन समितिको बटमलाइन हो ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया